शुक्रवार, श्रावण २९ २०७८
नेपाल वाइड
खोटाङ । साउन २९, मलेसियामा ज्यान गुमाएका खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका रनबहादुर बिष्टको दाहसंस्कार गरिएको छ । साउन १६ गते आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएपछि अस्पताल लैजानेक्रममा ज्यान गुमाएका रनबहादुरको १३ औं दिनमा बिहिबार दाहसंस्कार गरिएको हो ।
१८ वर्षदेखि मलेसियामा बसिरहेका बिष्टको परिवारको स्वीकृतिमा मलेसियास्थित नेपाली दुतावासको सहयोगमा त्यही दाहसंस्कार गरिएको हो । अवैध बनेर बसिरहेका उनी गत जुलाई १ तारिखदेखि मलेसियाको सेलाङ्गर तामिनजयास्थित एक होटलमा काम गर्दै आएका थिए ।
बिहान कोठामा बेहोस अवस्थामा भेटिएका बिष्टको अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको होटल सञ्चालकको भनाई छ । मृत्युपछि शवलाई मलेसियान प्रहरीले काजाङ अस्पताल पुर्याएको थियो ।
पोष्टमार्टम रिपोर्टमा उनलाई कोभिड–१९ को संक्रमण देखिएकाले सोही कारणबाट उनको मृत्यु भएको अस्पतालले जनाएको आगमनखबरडटकमले उल्लेख गरेको छ । उनी सुगर र प्रेसरको समस्याबाट समेत पिडित रहेको बताइएको छ ।
विष्ट बैदेसिक रोजगारीका सिलसिलामा २०६१ सालमा मलेसिया पुगेका थिए । १२ वर्षसम्म उनलाई पर्खेर बसेकी श्रीमतीले घरकै सल्लाहमा दोश्रो विवाह गरिसकेका छन् ।
विष्टको मृत्युको बारेमा सामाजिक सञ्जालबाट जानकारी पाएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । ‘मैले पनि सामाजिक सञ्जालबाट थाहा पाएको हो । गाउँमा बुझ्दा घट्ना यतार्थ रहेछ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘लामो समयसम्म घर नआएकाले घरपरिवारकै सल्लाहमा श्रीमतीले समेत दोश्रो विवाह गरिसकेको खबर आएको छ ।’