बुधवार, श्रावण १३ २०७८
नेपाल वाइड
खोटाङ । साउन १३, खोटाङमा पुष्पलाल मध्यपहाडी राजमार्ग कालोपत्रे गर्नेक्रममा गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन योजना प्रमुख र निर्माण कम्पनीका प्रवन्ध निर्देशक सहित पाँच जना विरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चेनेज नम्बर ४२+०० देखि ८८+५०० खण्ड (चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्ड)मा ठेक्का सम्झौता अनुसार काम नगरेको भन्दै परेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगालले पुष्पलाल मध्यपहाडी राजमार्ग योजना धुलिखेलका तत्कालिन योजना प्रमुख बिजय चापागाई, तत्कालिन इन्जिनियर दिपककुमार खड्का, सव–इन्जिनियर गजेन्द्रप्रसाद राउत, लेखा अधिकृत दुर्णप्रसाद फुयाँल र निर्माण कम्पनी महादेव खिम्ती निर्माण सेवा प्रालि काठमाण्डौका प्रबन्ध निर्देशक रवि सिं विरुद्ध मंगलबार विशेष अदालत काठ्माण्डौंमा आरोप–पत्र दायर गरेको हो ।
एउटा ठेक्काबाट डिपिआर अनुसारको इष्टिमेट तयार गरी सम्पन्न भएको अर्थवर्कको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराएको विल तयार पारी भुक्तानी लिने/दिने कार्य गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं ३५ वमोजिम तत्कालिन योजना प्रमुख सहित पाँच जना विरुद्ध विशेष अदालत काठ्माण्डौंमा आरोप–पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता एवं सूचना अधिकारी नारायणप्रसाद रिसालले विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।
‘उक्त चेनेजको ठेक्कामा निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनपर्ने भन्दा फरक व्यहोराको भेरिएसन पेश गरी, सार्वजनिक खरिद नियमावली अनुसार भेरिएसन नगराई, इष्टिमेट विपरीत विना कुनै निर्णय फिल्डमा काम गरी/गराई, फिल्डमा भएको परिमाणभन्दा बढीको नापी किताब तयार पारी एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुई वटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरी एउटा ठेक्काबाट डिपिआर अनुसारको इष्टिमेट तयार भई भएको अर्थवर्कको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई विल तयार पारी भुक्तानी लिने/दिने कार्य गरी हिनामिना तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको देखिन आएको’ अख्तियारको प्रेस विज्ञाप्तीमा उल्लेख छ ।
एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुई वटा ठेक्कामार्फत एउटै प्रकृतिको काम ओभरल्याप गरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ हिनामिना तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता एवं सूचना अधिकारी रिसालले दावी गरे ।
अख्तियारले पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाका तत्कालीन योजना प्रमुख चापागाईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गर्न र सोही दफा ८ को उपदफा (१) बमोजिम ६८ लाख ९३ हजार ७७८ रुपैयाँ बिगो समेत असुलउपर गर्न विशेष अदालत समक्ष माग दाबी गरेको छ ।
यस्तै, तत्कालीन इन्जिनियर खड्का र सव–इन्जिनियर राउतलाई पनि भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय गर्न र दुबै जनाबाट जनही ६८ लाख ९३ हजार ७७८ रुपैयाँ बिगो असुल गर्न माग दावी गरिएको छ । लेखा अधिकृत फुयाललाई भने भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय गरी २१ लाख ४९ हजार ८१८ रुपैयाँ विगो असुलउपर गर्न माग दावी गरिएको छ ।
यस्तै, महादेव खिम्ती निर्माण सेवाका प्रबन्ध निर्देशक सिंहलाई पनि भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय गर्न तथा ६८ लाख ९३ हजार ७७८ रुपैयाँ बिगो जफत गर्न माग दावी गरिएको अख्तियारले जनाएको छ ।