Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    सुरक्षित नागरिक आवास कार्यक्रममा बेतिथि : हुँदै नभएका व्यक्ति लाभग्राहीको सूचीमा

    सुरक्षित नागरिक आवास कार्यक्रममा बेतिथि : हुँदै नभएका व्यक्ति लाभग्राहीको सूचीमा


    • सोमवार, श्रावण ४ २०७८

    • नेपाल वाइड


    सुरक्षित नागरिक आवास कार्यक्रममा बेतिथि : हुँदै नभएका व्यक्ति लाभग्राहीको सूचीमा
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय

    खोटाङ । साउन ४, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीको सूचीमा ललितबहादुर श्रेष्ठको नाम समावेस छ ।

    तर, ललितबहादुर नाम गरेको लाभग्राहीको अहिलेसम्म पहिचान भएको छैन । नगरपालिकाबाट हुँदैनभएको मान्छेको नाम सुरक्षित नागरिक आवास निर्माण लाभग्राहीको सूचीमा समावेश भएपछि स्थानीय अचम्मित छन् ।

    सुुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समितिले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि खार्मीका लागि २९ जनाको कोटा निर्धारण गरेको थियो । तर सो सुचीमा हुँदैनभएको एक व्यक्तिको नाम समावेस भएर आएको वडाध्यक्ष रामचन्द्र राईले बताए ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा पनि सुरक्षित नागरिक आवास निर्माण लाभग्राहीको सूचीमा खइबहादुर राईको नाम उल्लेख छ । तर, ‘खइबहादुर को हुन्’ भन्ने बारेमा अहिलेसम्म आफुलाई थाहा नभएको वडाध्यक्ष मुगाधन राईले बताए ।

    वडामा खइबहादुर नभएपछि उनको स्थानमा तुलसकुमारी राईलाई सिफारिस गरिएको छ । पाथेकामै बसाई सरिसकेका तुलसी गिरीको ठाउँमा बुद्धिसिला राईलाई सुरक्षित नागरिक आवास कार्यक्रमका लागि सिफारिस गरिएको वडाध्यक्ष राईले बताए । खर तथा फुसको छाना हटाउने अभियान अन्तरगत नेपाल सरकारले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि पाथेकामा ३५ लाभग्राहीको कोटा तोकिएको थियो ।

    खार्मीका वडाध्यक्ष कांग्रेस र पाथेकाका वडाध्यक्ष तत्कालिन संघीय समाजवादीबाट निर्वाचित भएका हुन् । राजनैतिक आस्थाका आधारमा वडासँग समन्वय नगरी एकलौटी सुरक्षित नागरिक आवास कार्यक्रमको लाभग्राही छानिएको पाथेका र खार्मीका वडाध्यक्ष बताउँछन् ।

    तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वडास्तरिय नेता तथा कार्यकर्ताले सुरक्षित नागरिक आवास कार्यक्रमको लाभग्राही नगरपालिकामा सिसफारिस गरेको खार्मीका वडाध्यक्ष राईले बताए । ‘हामीले १९६ जनाको आवेदन संकलन गरेर नगरपालिकामा पठाइदिने काम गरेका थियौं,’ राईले भने, ‘त्यसपछि २९ जनाको लिष्ट पठाइएछ । त्यो बेला नेकपाले लाभग्राहीको नाम सिफारिस गरेको हो । यस बारेमा वडासँग कुनै समन्वय भएको छैन । लिष्ट आएपछि मात्र हामीले थाहा पाएका हौँ ।’

    खार्मीमा नेकपाले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि ३१ जनाको नाम टुंग्याएर पठाएको थियो । तर, अधिकांश लाभग्राहीको नाम फेरबदल भएर आएको नेकपाबाट सिफारिस गर्नमा संलग्न एमाले नेता हर्कराज राई बताउँछन् ।

    नेकपाबाट सिफारिस भए लगत्तै नेकपामा आएको बिभाजनको असर सुरक्षित नागरिक आवास कार्यक्रमको लाभग्राही छनौटमा परेको धेरैको बुझाई छ । साविकको ९ वडाबाट कम्तीमा तीन/तीन जना लाभग्राही पर्नेगरी सिफारिस गरेकामा कतिपय वडाका कुनै पनि लाभग्राही नपरेको वडाध्यक्ष राईले बताए ।

    कतिपय जस्ताको छाना हालिसकेका स्थानीयलाई पनि सुरक्षित नागरिक आवास कार्यक्रमको लाभग्राहीमा समावेस गरेको पाइएको छ । सो विषयमा वडाध्यक्ष राईले गत असार २६ गतेको नगरसभामा आवाज नै उठाएका थिए ।

    पाथेकामा पनि तत्कालिन नेकपाबाट सिफारिस भएका ३५ जनामध्ये १८ जनाको नाम परिवर्तन भएर आएको छ । त्यसमध्ये १५ जना सम्झौताका लागि आएकामा रोकिएको वडाध्यक्ष राईले बताए । सम्पर्कमा नआएका ३ जनाको ठाउँमा अशक्त र विधवालाई सिफारिस गरिएको छ । ३५ जनामध्ये १७ जनाले भने जस्ताको छाना हाल्नका लागि सम्झौता गरिसकेका छन् ।

    १८ जनाभित्र तराईमा घर जग्गा भएका, जस्ताको छाना हालिसकेका, सामाजिक र आर्थिकरुपमा मजवुद व्यक्ति समावेस भएको गुनासो छ । पाथेकामा अर्कै व्यक्तिको घरको तस्बिर राखेर समेत लाभग्राहीमा दर्ज भएको पाइएको छ ।

    खार्मी र पाथेकामा मापदण्ड विपरित सुरक्षित नागरिक आवास कार्यक्रमको लाभग्राही छनौट गरिएको विषयमा साउन २ गते नगरपालिकाले गरेको नियमित कार्यक्रम ‘मिट द प्रेस’मा पनि प्रश्न उठाइएको थियो ।

    सो ‘मिट द प्रेस’ कार्यक्रममा मेयर दिपनारायण रिजालले प्राविधिकले घरधुरी सर्भेक्षण गरेर ल्याएको आधारमा निर्णय गरेको तर ‘मिस यूज’ नभएको जवाफ दिएका थिए । नगरका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले पनि सुरक्षित नागरिक आवास कार्यक्रमको लाभग्राही छनौटका क्रममा दुई लाभग्राहीको विषयमा गुनासो आएपछि संशोधनको प्रकृया अघि बढाइसकिएको बताए ।

    सम्बन्धित समाचार