सोमवार, आषाढ २१ २०७८
नेपाल वाइड
खोटाङ । असार २१, पहिरोका कारण खोटाङको बिजुले–रावाबेँसी–ऐसेलुखर्क सडक अवरुद्ध भएको छ । असार १८ गते परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा बिजुले–रावाबेँसी–ऐसेलुखर्क सडक अवरुद्ध भएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाको सिमानाबाट रावाबेँसी गाउँपालिका प्रवेश गर्ने लेखर्क जंगलमा असार १९ गते बिहान ठूलो पहिरो खस्दा सवारी साधन आवागमन ठप्प भएको छ ।
रावाबेँसी गाउँपालिका हुँदै ऐसेलुखर्क पुग्ने सडक अवरुद्ध हुँदा ओहोर दोहोर गर्ने विरामी सवैभन्दा बढि मारमा परेका छन् । ढुवानीका सामान बाटोमा अलपत्र परेको छ । सडकमा पहिरो खसेको तीन दिन वित्दा समेत पहिरो पन्छाउनमा ध्यान जान नसकेको यात्रुको गुनासो छ ।
सडकमा खसेको पहिरो पन्छाउन ढिलाइ हुँदा लेखर्क जंगलमा अलपत्र पर्नुपरेको सवारी चालक जगत बस्नेतले बताए । ‘हामी माल लिएर ऐसेलुखर्कबाट हिँडेको लेखर्क जंगलमा अलपत्र परेका छौँ, वरपर घर छैन ।
भएको घरमा कोरोनाको त्रासमा खाना खान दिँदैन । चाउचाउ पानीको भरमा बसिरहेका छौँ, साथमा भएको चाउचाउ पनि सक्किसकेको छ,’ बस्नेतले भने, ‘गाउँपालिका, प्रहरी र प्रशासन सबैलाई भन्यौं तर सडकको पहिरो पन्छाउन ध्यान दिइएको छैन ।’
पहिरोका कारण रावाबेँसी गाउँपालिका प्रवेश गर्ने विजुले–ऐसेलुखर्क सहित विजुले–चिउरीबास र जौबारी कुभिन्डे सडक पनि अवरुद्ध भएको छ ।
रावाबेँसी गाउँपालिकाबाट ऐसेलुखर्क गाउँपालिका पुग्ने सडक खण्डको माक्पाको भदौरे रातमाटा र वलपालामा पनि पहिरो खसेको छ । विजुलेबाट रावाबेँसी गाउँपालिका हुँदै ऐसेलुखर्क पुग्ने सडक अवरुद्ध हुँदा जेनेरेटर लगायतका निर्माण सामग्री विजुलेमा अड्किएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।
हाल रावाबेँसी गाउँपालिका प्रवेश गर्ने वा बाहिरिने जीप तथा मोटरसाइकलका लागि पानी ट्यांकी–कुभिन्डे सडक सञ्चालनमा ल्याइएको बताइएको छ । विजुले–ऐसेलुखर्क सडकको लेखर्क जंगलमा खसेको पहिरो पन्छाउनका लागि मेसिन पठाइसकिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए । केही घण्टापछि लेखर्क जंगलको पहिरो पन्छाइसकिने अध्यक्ष निरौलाले जानकारी दिए ।
यस्तै, मध्यपहाडी लोकमार्गको दिक्तेल–जयरामघाट सडक खण्ड अन्तरगत बाहुनीडाँडा कदुवाको राँगाकाटेमा शनिबार खसेको पहिरो पनि अझै हटाइ सकिएको छैन ।