शनिवार, आषाढ १९ २०७८
नेपाल वाइड
कपिलवस्तु । छोराले विदेशमा राम्रो काम नपाएपछि उनका बुवाले वैदेशिक रोजगारीमा पठाउने ‘एजेन्ट’लाई योजना बनाएरै गोली हानी हत्या गरेका छन् । कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विजयनगर गाउँपालिका १ का ५० वर्षीय पशुपति कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई कपिलवस्तु नगरपालिका-१० नेपाल(भारत सिमाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।
२०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गोली हानी हत्या गरिएको थियो । हत्यापछि फरार रहेका कुर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि हिरासत लिइएको भण्डारीले बताए ।
पुरी वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठाउने कार्यमा संलग्न थिए । कुर्मीका छोरालाई विदेश पठाइदिने भनेर पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए । बहराइन पठाएकोमा राम्रो कम्पनी र तलब नपाएको भन्दै कुर्मीले पैसा फिर्ता माग्न थाले ।
भण्डारीका अनुसार पटक-पटक पैसा नपाएपछि उनलाई कुर्मीले मार्ने योजना बनाएको अनुशन्धानबाट खुलेको छ । यसमा कुर्मीसहित तीन जना व्यक्ति प्रतिवादी छन् । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए । कुर्मीलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।