Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    अघि–अघि जेसिभि, पछि–पछि संक्रमित बोक्ने गाडी

    अघि–अघि जेसिभि, पछि–पछि संक्रमित बोक्ने गाडी


    • शुक्रवार, आषाढ १८ २०७८

    • नेपाल वाइड


    अघि–अघि जेसिभि, पछि–पछि संक्रमित बोक्ने गाडी
    जेसिभिलाई अघि लगाएर विरामी लिएर फर्कँदै गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको गाडी ।

    खोटाङ । असार १८, अघि–अघि जेसिभि कुदिरहेको छ । पछि–पछि बा २ झ ३४६७ नम्बरको गाडी । सडकको हिलो पन्छाउँदै र खाल्डाखुल्डी पुर्दै हिँडेको जेसिभिलाई गाडीले पछ्याइरहेको थियो ।

    यो दृश्य खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको अस्पतालचोकबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ जाने सडकमा बुधबार देखिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले प्रयोग गर्दै आएको बा २ झ ३४६७ नम्बरको गाडीको कन्ट्रोल चालक काजी गुरुङको हातमा थियो ।

    उनी कोभिड–१९ बाट संक्रमित भएका बिरामी लिनका लागि अघि–अघि जेसिभि लगाएर लफ्याङतर्फ हिँडिरहेका थिए । तीन/चार दिनसम्म ओछ्यानमा थलिएकी ४० वर्षकी मुग्राती थरकी महिलालाई अस्पताल लैजानका लागि नगरपालिकाबाट जेसिभि सहितको गाडी मगाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष निर्मला राईले बताए ।

    हाल वर्षाको सिजन सुरु भएको छ । वर्षा सुरु भएसँगै जिल्लाका अधिकांश कच्ची सडक हिलाम्मे बन्न पुगेको छ । हिउँदमा जेनतेन गाडी गुड्ने सडकमा हाल हिलो जमेकाले गाडी भासिने अवस्था छ ।

    विरामी बोक्नेक्रममा सडकमै गाडी भासिने वा अड्किने भएकाले जेसिभि सहित गाडी झिकाइएको वडाध्यक्ष राईले बताए । अघि–अघि जेसिभि लगाएर अस्पताल पुर्‍याइएकी महिलालाई कोभिड–१९ को संक्रमण पूष्टी भएको छ ।

    उनलाई नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्रको भवनमा बनाएको आइसोलेसन सेन्टरमा पुर्‍याइएको छ । वर्षाका कारण जिल्लाका कच्ची सडक हिलाम्मे हुँदा एम्बूलेन्सको आवत–जावतमा समेत समस्या हुन थालेको छ ।

    एम्बूलेन्स चल्ने अवस्था नहुँदा कतिपय स्थानीय तहमा संक्रमित लगायत अन्य विरामीलाई स्वास्थ्य संस्थामा पुर्‍याउन कठिन हुन थालेको जनप्रतिनिधिको भनाई छ । ‘अहिले कच्ची सडकको अवस्था खराब बनेको छ,’ वडाध्यक्ष राईले भने, ‘त्यही भएर विरामी बोक्नेक्रममा नगरपालिकालाई गाडीसँगै सडक सफा गर्ने जेसिभि पठाइमागेका हौँ ।’

    सम्बन्धित समाचार