मंगलवार, आषाढ १५ २०७८
नेपाल वाइड
काठमाडौं । बुधबार (भोलि)बाट मनसुन थप सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहने हुनाले मनसुन सक्रिय हुने भएको हो ।
मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आज एक विवशेष बुलेटिन जारी गर्दै मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।