आइतवार, आषाढ ६ २०७८
नेपाल वाइड
खोटाङ । असार ६, खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका हिमाल आरोही युवराज नाछिरिङले बिश्वको सर्वोच्च शिखर सगरमाथामा किरात रदु नाछिरिङ साखाम केन्द्रको व्यानर फहराएका छन् ।
हाल बुढानिलकण्ड नगरपालिका–१० आकाशेधारा निवासी नाछिरिङले मे ९ तारिखका दिन सगरमाथाको ८ हजार ५ सय मिटर उचाईमा चढेर किरात रदु नाछिरिङ साखाम केन्द्रको व्यानर फहराएका हुन् ।
२०७४ साल जेठ ९ गते हाड इन्टरनेसनल एभरेष्ट एक्सपिडिशन मार्फत सगरमाथाको सफल आरोहण गरेका नाछिरिङले यसपल्ट सगरमाथाको बाल्कुनीमा पुगेर किरात रदु नाछिरिङ साखाम केन्द्रको व्यानर फहराएका हुन् ।
आमादव्लम, आइसल्याण्ड, मेरापिक लगायतका हिमाल आरोहण गरिसकेका नाछिरिङ पुःन सगरमाथाको दोश्रो आरोहणका लागि किरात रदु नाछिरिङ साखाम केन्द्रको व्यानर बोकेर आरोहणमा गएका थिए । तर, प्रतिकूल मौसमका कारण दोश्रोपल्ट सगरमाथाको शिर चुम्ने प्रयास भने असफल भएको नाछिरिङले बताए ।
दोश्रो पल्ट सगरमाथाको शिखर पुग्ने प्रयास असफल भए पनि उनी ८ हजार ५०० मिटर उचाईमा संस्थाको व्यानर पहिलोपल्ट पुर्याउन सफल भएका छन् । किरात राई समुदायका पहिलो सगरमाथा आरोही युवराज किरात रदु नाछिरिङ साखाम केन्द्रको सल्लाहकार हुन् ।

उनले सगरमाथाको बाल्कुनीमा संस्थाको व्यानर फहराएर नाछिरिङ राईको गौरवमय इतिहास बनाएको किरात रदु नाछिरिङ साखाम केन्द्रकी उपाध्यक्ष कमलकुमारी राईले बताईन् । एउटै टोलीका युवराज सहित सात नेपाली र सात जना विदेशी आरोहीमध्ये चार विदेशी र दुई नेपाली मात्र सगरमाथा शिखरमा पाइला राख्न सफल भएका छन् ।
युवराज सहित पाँच नेपाली र तीन विदेशी भने प्रतिकूल मौसमका कारण ८ हजार ५०० मिटरबाटै ओर्लिएका हुन् । यसपल्ट आरोही नाछिरिङको गाला हिउँले खाएको छ ।
उनले सन् २००९ मा मेरापिक, सन् २०१० मा आइसल्याण्ड पिक, सन् २०११ मा लबुछे पिक, सन् २०१८ मा आमादव्लम तथा भारतका स्टक ख्रांग्री लगायतका चुचुराको सफल आरोहण गरिसकेका छन् । सगरमाथा आरोही युवराज बाबु हेमबहादुर राई र आमा धनकुमारी राईका छोरा हुन् ।