शनिवार, आषाढ ५ २०७८
नेपाल वाइड
खोटाङ । असार ५, चार वर्षअघि मानसिक सन्तुलन गुमाएका खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटा बितलवका मनोज तामाङको स्वास्थ्यमा सुधार आएको छ । आफन्त तथा शुभेच्छुकको आर्थिक सहयोगमा गत चैत १७ गते टिचिङ अस्पताल काठ्माण्डौं लगिएका २४ वर्षीय तामाङको स्वास्थ्यमा सुधार आएको हो ।
निरन्तरको उपचारपछि करिब १५ दिनअघि देखि मनोजको होस खुलेको बुवा बाबुराम तामाङले बताए । मनोजको अहिले पनि अस्पतालमै उपचार भइरहेको छ । ‘विरामी भएपछि दोहोरो कुराकानी हुँदैनथ्यो । एउटा कुरा सोध्दा अर्कै कुरा गर्थे ।
बोलीको ठेगान हुन्नथ्यो,’ बाबुरामले भने, ‘पहिलाजस्तो क्लियर त भएको छैन तर होस् खुलेको छ । दोहोरो कुरा हुन्छ, दोहोरो वात गर्न सक्ने भएको छ । पूर्ण निको हुने आशा छ ।’ टिचिङ अस्पतालमा तामाङको उपचारको क्रममा पौने दुई लाख लाख खर्च भइसकेको छ ।
चार वर्षअघि मनोज २० वर्षका थिए । एसएलसि दिएपछि अढाइ महिनाका लागि दिल्ली गए । दिल्लीबाट घर फर्किएको १५ दिनपछि सुतेकोबेला राती १२ बजे उनी एक्कासी ‘के आयो–के आयो’ भन्दै कराउँदै कुद्न थाले ।
त्यही रातबाट उनले आफ्नो मानसिक सन्तुलन गुमाएका हुन् । कतिपयलाई आक्रमण नै गर्न थालेपछि उनलाई बाँधेर समेत राखिएको थियो । स्वास्थ्यमा समस्य आए लगत्तै मनोजलाई धरान, काठ्माण्डौं, विराटनगर लगायतका अस्पतालमा कुदाइए तर स्वास्थ्यमा सुधार आएन । धामीझाँक्री र माताकोमा लैजाँदा उत्तिकै खर्च भएको बाबुराम बताउँछन् ।
उपचारको नाममा आठ लाख खर्च हुँदा पनि मनोजको स्वास्थ्यमा सुधार आएन । उपचारकैक्रममा परिवार ऋणमा चुर्लुम्म डुबेपछि हार खाएका बाबुरामले मनोजलाई घरमा ल्याएर राखेका थिए । कोभिड–१९ को महामारीका कारण गत वर्ष लकडाउन हुँदा नियमित औषधि सेवन गर्न नपाएपछि उनको स्वास्थ्यमा थप जटिल समस्या निम्तिएपछि युवा नेता बाजिन्द्र बिष्टको पहलमा सहयोग जुटाएर पुःन अस्पताल लगिएको थियो ।
कांग्रेस जन्तेढुंगा गाउँपालिका समितिका उप–सभापति बिष्टको पहलमा ६७ हजार ७८० रुपैयाँ आर्थिक सहयोग रकम जुटे लगत्तै मनोजलाई अस्पतालतर्फ हिँडाइएको थियो । आफन्त तथा शुभेच्छुकबाट जुटेको रकम सकिएपछि डिस्चार्जका क्रममा अझै २० हजारको अभाव भएको बाबुरामले बताए ।
हाल डिस्चार्जका क्रममा लाग्ने रकम पनि सहयोगी तथा शुभेच्छुकबाट जुटाउने काम भइरहेको युवा नेता बिष्टले बताए । परिवारका पाँच सन्तानमध्ये मनोज जेठो सन्तान हुन् ।
विभिन्न अस्पताल चाहारे पनि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा बिरामी छोरालाई घर फर्काएका बाबुराम तामाङले बिष्टलाई सहयोगका लागि गुहारेका थिए । बाबुरामको आग्रहमा युवा नेता बिष्टले मानसिक समस्याबाट पिडित भएका मनोजको भिडियो खिचेर देश विदेशका दातामाझ सहयोग अभियान चलाएका थिए ।
मनोजलाई सहयोग गर्नका लागि बाबुराम तामाङको नाममा कृषि बिकास बैंकको खाता नम्बर ११२५२०१८२४६७००१७ मा सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।