आइतवार, जेठ ९ २०७८
नेपाल वाइड
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् ।आइतबार बिहान ८:५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रा.लि.का प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए ।
दुवै जना हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशनबाट आरोहणका लागि गएका थिए । सोनाम आवश्यक तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए भने पिके गत वैशाख २४ गते अनुमति पत्र लिएर गएका थिए । मौसममा आएको खराबीले केही दिन बेस क्याम्पमै रहेको र मौसम खुलेसँगै अघि बढेका बाबुछोराले आज आरोहण गर्न सफल भएको पौडेलले बताए ।
यता पर्यटन विभागले समेत उनीहरुले आरोहण गरेको सूचना आएको जनाएको छ । ‘पिके शेर्पा र उहाँका छोरा दुवैले आरोहण गरेको भन्ने बेस क्याम्प र त्यस माथिबाट हामीलाई सूचना आएको छ’, पर्वतारोहण विभागकी निर्देशक मीरा आचार्यले भनिन् । आचार्यका अनुसार एक्सपिडिशन रिपोर्ट आएपछि विभागले छानबिन गर्ने र आरोहण पुष्टि भए आधिकारिकता प्रदान गरिने छ ।
यस्तै सोनाम सबैभन्दा कान्छो आरोही हुन सक्ने आचार्यको भनाइ छ । अहिले नै यसै हो भनेर भन्न नसकिने उनले स्पष्ट पारिन् । ‘१६ वर्ष मुनिकाले आरोहण गर्न पाउँदैनन्, उहाँ १६ वर्ष पूरा भएर आउनुभएको थियो, पूर्णरुपमा डकुमेन्ट हेरेर छानबिनपछि मात्र भन्न सकिन्छ’, आचार्यले भनिन् । आचार्यका अनुसार हालसम्म १३० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
विसं २०६१ फागनु १५ गते जन्मिएका शेर्पाले गत चैत २६ गते मात्रै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । रासस