बिहिवार, बैशाख २३ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख २३, ‘दलितसँग गाउँपालिका’ कार्यक्रम अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा वडा स्तरिय दलित सञ्जाल गठन गरिएको छ । दलित समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा कार्यान्वयनमा ल्याएको दलित लक्षित कार्यक्रम अन्तरगत शंकर बिश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय वडा स्तरिय दलित सञ्जाल गठन गरिएको हो ।
बड्कादियालेका दलितवस्तीको टोल–टोलमा पुगेर शिक्षा र स्वास्थ्य सम्वन्धी सचेतना तथा व्यवसाय छनौट, व्यवसाय दर्तादेखि अनुदान प्राप्त गर्ने विधि र प्रकृयाका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेपछि टोल–टोलबाट छनौट भएर आएका प्रतिनिधिकै बैठकले वडास्तरिय दलित सञ्जाल गठन गरेको हो ।
तिनै वडास्तरिय दलित सञ्जाल, वडाका जनप्रतिनिधि र कार्यक्रम सहजकर्ताको आगामी बैसाख २९ गते बस्ने बैठकले बड्कादियालेका पाँच जना दलित उद्यमीलाई छनौट गरेर प्रतिव्यक्ती १८ हजार बराबरको व्यवसायसँग सम्वन्धित उत्पादन सामग्री उपलव्ध गराउने गरिएको ‘दलितसँग गाउँपालिका’ कार्यक्रमका सहजकर्ता इन्द्रकुमार राई (इन्द्र नारथुंगे)ले बताए ।
गाउँपालिकाको दलित लक्षित कार्यक्रम अन्तरगत खोटेहाङ गाउँपालिका–३ सावाकटहरे, खोटेहाङ गाउँपालिका–४ वड्कादियाले र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सञ्चालन भइरहेको छ । समग्र दलित समुदायको उत्थान एबं आयआर्जनमा टेवा पुर्याउने लक्ष्यका साथ चालु आर्थिक वर्षदेखि ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।
सो कार्यक्रम अन्तरगत तीन वटै वडाका दलित समुदायलाई सहभागी गराएर स्वास्थ्य, शिक्षा तथा व्यवसाय छनौट, दर्ता र सञ्चालन लगायतको विषयमा फरक–फरक समयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ ।
यस्तै, दलित परिवारको आर्थिक आय आर्जनमा टेवा पुर्याउने लक्ष्य अनुसार प्रतिवडा पाँच जनाका दरले १५ जना उद्यमीलाई उत्पादन सामग्री समेत हस्तान्तरण गर्नेगरी कार्यक्रम ल्याइएको हो । दलित समुदायको उत्थानका लागि उपयुक्त कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आव्हान गरेर उत्कृष्ट प्रस्तावलाई स्वीकृत गरेर ‘दलितसँग गाउँपालिका’ कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।