शनिवार, बैशाख ११ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख ११, खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घट्ना हुँदा सह–चालकको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको दर्शनार्थी बोकेको बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घट्ना हुँदा सिन्धुपाल्चोकका अन्दाजी १८ वर्षीय सह–चालक अनिल तामाङको मृत्यु भएको हो । तामाङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कनेक्रममा दर्शनार्थी बोकेको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घट्नामा परेको थियो । सडकको घुम्ती पुग्न लाग्दा पल्टिएको बस अन्दाजी २० मिटर तल सडकमै अड्किएको थियो । वस दुर्घट्नामा २२ जना घाईते भएको प्रहरीले जनाएको छ ।
वस दुर्घट्नामा सप्तरी कञ्चनरुप नगरपालिका–१२ का ७५ वर्षीय सिता नेपाल, ३८ वर्षीय रमा नेपाल, १४ वर्षीय निश्चल नेपाल, कोपिला नेपाल, ४१ वर्षीय प्रमिला सुरखेती, सन्तलक्ष्मी बस्तिहर, ४२ वर्षीय होम श्रेष्ठ, १५ वर्षीय रमा श्रेष्ठ, बसका चालक ४२ वर्षीय रबिन्द्र ठकुरी, १५ वर्षीय प्रजिता नेपाल, ३५ वर्षीय गिता श्रेष्ठ, ४० वर्षीय बिमला पोखरेल, ३८ वर्षीय उर्मिला श्रेष्ठ, ६० वर्षीय लिला श्रेष्ठ, ५५ वर्षीय सुद्धीदेवी महतो, १८ वर्षीय सरिता श्रेष्ठ, ४० वर्षीय भिमा बिश्वकर्मा, ६० वर्षीय कुलमान बिश्वकर्मा, ३२ वर्षीय दिनेश गहतराज, ५० वर्षीय टेक श्रेष्ठ, ४५ वर्षीय उर्मिला श्रेष्ठ र ४१ वर्षीय प्रमिला श्रेष्ठ घाईते भएका छन् । त्यसमध्ये ९ जना गम्भीर घाईते छन् ।
कतिपय घाईतेलाई स्वास्थ्यचौकी बाहुनीडाँडा र च्यास्मीटारका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेको उद्धारका क्रममा घट्नास्थल पुगेका स्थानीय देवराज केसीले बताए । वसमा चालक र सह–चालक सहित ३५ जना सवार थिए ।
घाईतेलाई उपचारका लागि उदयपुरको कटारी पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । पल्टिएको बस सडकमा अड्किएपछि राँगाकाटेमा तीन/चार घण्टा सडक अवरुद्ध बनेको थियो । स्थानीय, प्रहरीचौकी च्यास्मीटार र ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरीले बस दुर्घट्नामा परेका घाईतेको उद्धार गरेका थिए ।
दुर्घट्नाको जानकारी पछि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाली सेनाका गणपति नरोत्तम पौडेल, जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरिया, शसस्त्र प्रहरीका डिएसपी सरोज कार्की लगायतको टोली घट्नास्थल पुगेका थिए ।