शुक्रवार, बैशाख १० २०७८
नेपाल वाइड
बाँच्नुको सार्थकता खोजिरहेकी रीता
खोटाङ । बैशाख १०, एस.एल.सी पास गर्न नसके पनि कम्प्युटर र सिलाई कटिङ तालिमबाट आफ्ना सपनाहरुलाई ज्यूँदो राख्ने प्रयत्नमा थिइन् रीता विश्वकर्मा । सोह्र–सत्रको त्यो फक्रिन्दो वयमा मन भित्र थुप्रै अभिप्साहरु जागृत थिए । उनी र उनको भाइ–बहिनीको सपनालाई निभ्न नदिन बुवा महनवहादुर विदेश हानिए । आमा सीताको छत्रछायामा हुर्कन्दै र सपनाहरु हुर्काउँदै थिए गाउँमै रीता र उनका भाइ बहिनीहरु ।
सिलाई कटिङ र कम्प्युटर तालिम बाहेक घरधन्दा, घाँस दाउरा, मेलापात र गोठाला पनि उस्तै दिलचस्पीका साथ गर्थिन् उनी । सिलाई मेसिन घरमै राखेर आफूले जानेको कपडा सिलाउने पनि गर्थिन् । हुर्केकी छोरीले काममा सहयोग गर्दा आमा सीताको मन पनि फुरुङगै थियो ।
तर विधीको विडम्बना एकदिन गोठालामा चिप्लेर लड्न पुगिन् रीता । लडाई सामान्य नै थियो । खास ठूलो चोटपटक लागेको पनि थिएन तर कम्मर मुनीको भाग चलाउन असहज भैरहेको थियो । गाउँघरको सामान्य उपचारबाट निको नभएपछि काठमाण्डौ स्थित टिचिङ अस्पताल पुगिन् । डाक्टरले चेक अप गर्यो, एक्सरे गरियो तर खास समस्या पत्ता लाग्न सकेन ।
थुप्रै औषधी खाइन्, अन्य अस्पताल पनि पुगिन् तर खुट्टा चलाउन सहज भएन । अस्पतालको उपचारले केही नलागेपछि गाउँ फर्किइन् र धामीझाँक्रीको शरणमा पुगिन् । गाउँघरका जानेजति र भेटेजति जम्मै धामी झाँक्रीले झारफुक गरिदियो, अन्साउने–मन्साउने काम गरियो तर उनको रोग बीसको उन्नाइस भएन ।
शरीरसँगै विस्तारै मन गल्न थाल्यो । खानामा रुची भएन, निन्द्रा पनि राम्रोसँग लाग्न छोड्यो, शरीर झन कमजोर हुन थाल्यो । एकवर्ष अगाडिसम्म लठ्ठी टेकेर हिंड्न सक्ने रीता आज कसैको सहाराबिना बाहिर–भित्र गर्न नसक्ने भएकी छिन् ।
खोटेहाङ गाउँपालिकाको दलित लक्षित कार्यक्रम “दलितसँग गाउँपालिका” अभियान लिएर उनको घर लिच्कीराम्चेको खजुरे टोलमा पुग्दा आमा सीता घरधन्दा गर्दै थिइन्, रीता भने ओछ्यानमा पल्टेर दलिनतिर एकोहोरो टोलाई रहेकी थिईन् ।
आमा सीतासंग केही बेर गफिएपछि रीतालाई बाहिर निकाल्न अनुरोध गरें । एक हातले लौरी र अर्को हात आमाको काँधमा राखेर उनी बाहिर निस्किइन् । शारीरिक रोगलेभन्दा पनि मनको पीडाले आहत त्यो अनुहारमा सघन उदासी मडारिरहेको थियो ।
आमा सीताले गाउँपालिकाबाट प्राप्त अपाङ्ग परिचयपत्र देखाइन् । सेतो रङ्गको त्यो परिचयपत्र “घ“ वर्गको रहेछ । परिचयपत्रमा “खुट्टा नचल्ने“ भनेर किसिम छुट्याइएको रहेछ । खुट्टा नचल्ने मानिसको रेखदेख र लालनपालन अरुले नै गर्नु पर्ने हुन्छ । जुन व्यक्ति अरुको सहारामा बाँच्नु पर्छ उनले सामाजिक न्यायको सिद्धान्त अनुसार सामाजिक सुरक्षा भत्ता पाउनु पर्ने हो ।
तर रीताले “घ” वर्गको परिचयपत्र पाएको हुनाले सामाजिक सुरक्षा भत्ता पाउने अवस्था छैन । आमा सीताको अहिले अपेक्षा भनेको छोरीको लागि सामाजिक सुरक्षा भत्ता नै हो । यसबारे गाउँपालिकामा कुरा उठाई सकेको हुनाले ढिलो चाँडो सम्बोधन हुन्छ नै । तर रीताको अनुहारले भन्दै थियो, मैले भत्ता भन्दा पनि जीवन ज्यूनुको अर्थ खोजिरहेकी छु ।
रीता पछिको दुईवटी बहिनीहरुको विवाह भैसकेको र नातीनातिनी पनि जन्मिसकेको बताउँदा आमा सीता, भित्र भित्रै रीताको भविष्यलाई लिएर चिन्तित बनेको प्रष्ट बुझिन्थ्यो । “छोरीकै उपचारमा लागेको रिन तिर्न लामो समयदेखि श्रीमान् विदेशमा हुनुहुन्छ । उपचार गरेर पनि छोरी ठिक भइन, हामी भइन्जेल त पालौंला, त्यसपछि यसको हालत के हुने हो ?“
आमा सीताको अभिव्यक्तिले भित्रबाटै हल्लिएँ म । रीताको आत्माले बाँच्नुको अर्थ खोजिरहेको बेला आमाको यस्तो अभिव्यक्तिले उनको मनमा कस्तो असर पर्यो होला ?
आमा छोरीको मौनतालाई अनुकूल अवसर ठानेर मनोसामाजिक परामर्शको विधि उपयोग गर्दै झमककुमारी घिमिरेदेखि स्टेफन हकिङसम्म, पारिजातदेखि रोजा लग्जेम्बर्गसम्मको शारीरिक अवस्था र उनीहरुको सिर्जनशीलता एवं सार्थक जीवनको बारे सुनाई रहँदा आमा सीताको अनुहार उज्ज्यालो भएर आयो । फिस्स हाँसेर प्रतिक्रिया जनाउने रीताको अनुहारले भने “म बाँचेर केही गर्न सकुँला त ? “ भन्ने प्रश्नको जवाफ खोजिरहेको हो की भन्ने भाव दिँदै थियो ।
“छोरीको लागि यति धेरै खर्च गर्नु भो अब श्रीमानलाई भनेर एउटा ल्यापटप किनिदिनुस्, कम्प्युटर चलाउन सामान्य जानेकी नै छिन्, चलाउँदै जाँदा थप जानिन्छ । इन्टरनेटको माध्यमद्वारा कम्प्युटरमै बसेर आय आर्जन गर्न पनि सकिन्छ । “आमालाई यसो भनिरहँदा रीताको अनुहारमा चमक थपिएको छनक मिल्यो ।
“हामीले जस्तो काम गर्नु पनि पर्दैन, दिनभरि आफूलाई मन परेको किताब पढ्नु, मन परेको कुराहरु लेख्नु, लेख्दा लेख्दै महान साहित्य र विचारहरु पनि जन्मिन सक्छन् । दिनभर झोक्राएर बस्नु भनेको आफैलाई मात्र होइन परिवारलाई पनि कम्जोर बनाउनु हो, त्यसैले अब तुरुन्तै भाइलाई नजिकैको विद्यालयमा पठाएर किताबहरु मगाएर पढ्न शुरु गर, पढेपछि आफ्नो मनमा लागेका कुराहरु लेख, लेखेको कुराहरु हेर्न म फेरि पनि आउँछु ।
“यति भनेर मैले आफ्नो मोबाइल झिकें र रीताको फोटो खिंचे । खिचिसकेको फोटो घर आएर हेर्दा थाहा लाग्यो, उनको अनुहारमा थोरै भए पनि चमक थपिएछ तर प्रश्न भने अझै आँखाले गरे जस्तो लाग्यो, “फेरि आउनु हुन्छ त ?”
डाक्टरको पुनः चेक जाँचपछि कार्डको वर्ग फेरिएला र रीताले भत्ता पाउलिन् ।
आमा सीताको अपेक्षा त पुरा हुन्छ नै, तर बाँच्नुको सार्थकता खोजिरहेकी रीतालाई झक्झक्याउन एकपटक होइन पटकपटक पुग्नु पर्ने आवश्यकता महशुस गरेको छु । केही उत्प्रेरणामूलक कितावहरु बोकेर उनको घरमा दोश्रो पटक पुग्ने दिन टाढो नहोला । आशा राख्छु, मसँगै तपाई पाठकहरुको शुभेच्छा पनि रीताको समिपमा पुग्ने छ ।
लेखक : ईन्द्र नारथुङे