बुधवार, बैशाख ८ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख ८, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी निकाल्नका लागि सुरु गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ ।
निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण म्याद नाघेको कम्तीमा ९ देखि १५ महिना वित्दा समेत बृहत पम्पिङ खानेपानी आयोजनाको काम अधुरो रहेको छ । सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको ७ वडाका खानेपानीको विकराल समस्या हल गर्नका लागि ९६ करोडभन्दा बढिको बृहत पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको थियो ।
दुधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई बितरण गर्ने लक्ष्य राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको ठेक्काको म्याद गुज्रेको १५ महिना बित्दा करिब ८० प्रतिशत मात्र काम सकिएको छ ।
भ्याट वाहेक ३१ करोड ७५ लाख ९६ हजार खर्चमा २०७६ साल पुस १७ गतेसम्ममा सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी दिवा–महादेव खिम्तीले २०७४ साल असार २१ गते मेनलाईनको कामको ठेक्का सम्झौता गरेको थियो । दिवा–महादेव खिम्तीका डाइरेक्टर रबि सिंले भने स्थानीय अवरोधका कारण आयोजनाको काममा ढिलासुस्ती भएको दावी गर्नुभयो । समय तालिका अनुसार काम भइरहेको दावी गर्दै सिंले तीन हप्ताभित्रमा लिफ्टिङको सामान आइपुग्ने जानकारी दिनुभयो ।
यस्तै, खानेपानी आयोजनाको वितरणलाईनतर्फको काम गरिरहेको लामा कन्ट्रक्सन प्रालि र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीको कामको प्रगती पनि सन्तोषजनक देखिएको छैन । भुम्जुडाँडा र काभ्रेडाँडामा निकालिएको पानीलाई वडा–वडामा वितरण गर्ने कामको म्याद गुज्रेको कम्तीमा ९ महिना बितिसकेको छ ।
काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गरिसक्ने गरी ठेक्का लिएको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले हालसम्म करिब ७४ प्रतिशत मात्र भौतिक प्रगती देखाउन सकेको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हिराकाजी महर्जनले बताउनुभयो ।
यस्तै, भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरणका लागि ठेक्का लिएको लामा कन्ट्रक्सनले म्याद गुज्रेको ९ महिना बित्दा करिब ७४ प्रतिशतकै हाराहारीमा भौतिक प्रगती देखाएको छ ।
रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीका डाइरेक्टर शम्भु घिमिरे र लामा कन्ट्रक्सनका पिताम्बर बडुले केही प्रतिनिधिको भरमा आयोजनाको काम छाड्दा चरम ढिलासुस्ती भएको स्थानीयवासी एवं नेकपा एमालेका नेता सुरेन्द्र राईले बताउनुभयो ।