सोमवार, बैशाख ६ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख ६, सडक स्तरोन्नतीको माग गर्दै खोटाङ यातायात प्रालिले घुर्मी–कटारी–मिरचैया सडकमा अनिश्चित कालका लागि यातायात सेवा बन्द गरेको छ । सिराहाको मिरचैया–उदयपुरको कटारी–घुर्मी सडक स्तरोन्नतीका लागि आवश्यक बजेट व्यवस्थाको माग गर्दै यातायात प्रालिले सोमबारदेखि सो सडक खण्डमा अनिश्चित कालका लागि आफ्नो सवारी साधन आवतजावत बन्द गराएको हो ।
सिद्धिचरण राजमार्ग अन्तरगत पर्ने मिरचैया–घुर्मी–कटारी सडक खण्डको ओटासिल पिच उक्किएपछि जिर्ण बनेको तथा सडक दुर्घट्नाका कारण जनधनको क्षती हुँदा पनि राज्यको ध्यान नपुगेको भन्दै यातायात प्रालिले अनिश्चितकालिन यातायात बन्द गरेर ध्यानाकर्षण गराउनु परेको जनाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बजेटमा मिरचैया–घुर्मी–कटारी सडकको दुई लाईन सडक विस्तार एवं कालोपत्रेका लागि बजेटको सुनिश्चितता नभएसम्मका लागि एम्बूलेन्स बाहेकका यातायातका साधनहरु अनिश्चितकालका बन्द गरिएको खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र राईले बताए ।
घुर्मी–कटारी–मिरचैया सडकमा एम्बूलेन्स बाहेक सबै खालका यातायातका सवारी साधन हिडाउन बन्द गरिएपछि दिक्तेलबाट धरान, बिराटनगर र बिर्तामोड आवतजावत गर्ने यात्रु भने मारमा परेका छन् । आफ्नो माग पुरा नभए थप आन्दोलनका कार्यक्रहरु अघि बढाइने यातायात प्रालिका अध्यक्ष राई र महासचिव रामकुमार हिङमाङले जारी गरेको विज्ञाप्तीमा उल्लेख छ ।
हाल जिर्ण अवस्थामा पुगेको मिरचैया–कटारी–घुर्मी सडक स्तरोन्नतीको माग गर्दै खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु उद्योग बाणिज्य संघले चैत ३१ गते भौतिक पुर्वाधार तथा यातायात मन्त्री बशन्तकुमार नेम्वाङ ज्ञापनपत्र बुझाएका थिए ।
तराईसँगको लिंक रोडकारुपमा रहेको सडक जिर्ण हुँदा यात्रा गर्नदेखि माथिल्लो सगरमाथा क्षेत्रमा उपभोग्यवस्तु ढुवानीमा सकस भइरहेकाले मिरचैया–कटारी–घुर्मी सडक स्तरोन्नतीको माग राखिएको उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए ।