आइतवार, बैशाख ५ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख ५, खोटाङको खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरिएको छ । समग्र दलित समुदायको उत्थान एबं आयआर्जनमा टेवा पुर्याउने लक्ष्यका साथ खोटेहाङ गाउँपालिकाले सुरु गरेको ‘दलितसँग गाउँपालिका’ कार्यक्रम अन्तरगत शनिबार बड्कादियालेमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
‘दलितसँग गाउँपालिका’ कार्यक्रमको पहिलो चरण अन्तरगत वडाका जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, दलित समुदायलाई सहभागी गराएर कार्यक्रमको उद्धेश्य, लक्ष्य, यसको स्वरुपका बारेमा जानकारी दिइएको कार्यक्रमका सहजकर्ता इन्द्र नारथुंगे (इन्द्रकुमार राई)ले बताए ।
दोश्रो चरणमा प्रत्येक दलित समुदायको घर–घमा पुगेर उनीहरुको समस्या पहिचान गर्दै उनीहरुका लागि आवश्यक तालिम सञ्चालन गरिने छ । यस्तै, उद्यम तथा व्यवसाय सञ्चालन गर्नका लागि दलित समुदायमध्येबाट पाँच जनालाई छनौट गरेर आवश्यक सामग्री प्रदान गरिने सहजकर्ता नारथुंगेले बताए ।
बड्कादियालेमा आयोजित कार्यक्रममा नेकपा माओबादी केन्द्र बड्कादियालेका संयोजक मुक्तीबहादुर राई, भाषा आधारभुत विद्यालयका शिक्षक भिमप्रसाद बिक, सामी परियोजना खोटेहाङका वित्तीय साक्षरता सहजकर्ता युवराज बिक लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
दलित समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित दलित लक्षित कार्यक्रम अन्तरगत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेबाट ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरिएको हो ।
‘दलितसँग गाउँपालिका’ कार्यक्रमका लागि चालु आर्थिक वर्ष लिच्कीराम्चे, बड्कादियाले र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेलाई छानिएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । ‘दलितसँग गाउँपालिका’ कार्यक्रमका लागि परेका प्रस्तावमध्ये नारथुंगेको प्रस्ताव छनौट भएको हो ।