शनिवार, बैशाख ४ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख ४, खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा झोलुंगे पुल निर्माण गरिएको छ । नेपाल सरकार स्थानीय पुर्वाधार बिभाग पुलचोक ललितपुरको आर्थिक सहयोग एवं झोलुंगे पुल सहयोग ईकाई धरान र हिमाली क्लव दिक्तेलको प्राविधिक सहयोगमा सोखु र मोदी जोड्ने चङ्खु खोलामा झोलुंगे पुल निर्माण गरिएको हो ।
वर्षा याममा स्थानीयको सहज आवत–जावतका लागि निर्माण गरिएको ९४ मिटर लम्बाई भएको झोलुंगे पुल शुक्रबार ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले उद्घाटन गरेका छन् । स्थानीय पुर्वाधार बिभागको करिब ३० लाख बजेटमा राखाबांदेलको दुरदराज मानिने चङ्खु खोलामा झोलुंगे पुल निर्माण गरिएको हो । खोलामा झोलुंगे पुल निर्माण भएपछि स्थानीयलाई आवत–जावत गर्न सहज भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा चङ्खु खोलामा पुल निर्माणका लागि उपभोक्ता समितिले २१ लाख २६ हजारमा सम्झौता गरेको थियो । पुल निर्माणका लागि उपभोक्ता समितिलाई थप १० लाख बराबरको स्टीलका सामग्री खरिद गरेर प्रदान गरिएको गाउँपालिकाका लेखा प्रमुख पंकज आचार्यले बताए ।
ऐसेलुखर्क गाउँपालिका–७ माक्पाको उत्तिसे र चङ्खु खोलामा झोलुंगे पुल निर्माणका लागि गाउँपालिकाले १९ लाख ७८ हजारको सामान खरिद गरेको थियो । माक्पास्थित उत्तिसेको झोलुंगे पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।