शनिवार, बैशाख ४ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख ४, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खरको छानोमुक्त अभियान सुरु भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रम कार्यन्वयनमा आउन अगावै हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारबाट हरेक घरलाई जस्ताको छानो उपलव्ध गराउने अभियान सुरु गरिएको हो ।
एकल महिला/पुरुष, दलित, विपन्न, भूकम्पमा आवास गुमाएका तर अनुदान पाउनबाट बञ्चित भएका पिडितलाई प्राथमिकता दिएर सुरक्षित घर निर्माण अभियान थालिएको वडाध्यक्ष रमेश राउतले बताउनुभयो ।
हरेक घरलाई जस्ताको छानो उपलव्ध गराउने लक्ष्यका साथ वडा कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा ८ लाख बजेट बिनियोजन गरेको थियो । सो बजेटबाट चालु आर्थिक वर्ष खरको छानो हटाउनका लागि वडाका १४ परिवारलाई जस्ता प्रदान गरिएको छ ।
आफैले जस्ता हालिसकेका र भूकम्पीय आवास निर्माण गरिसकेका नागरिकलाई भने वडा कार्यालयले जस्ता उपलव्ध गराउने जनाएको छ । आगामी चार वर्षभित्रमा खरको छानोमुक्त बनाउने लक्ष्य राखिएको वडाध्यक्ष राउतले बताउनुभयो । विपन्नलाई जस्ता उपलव्ध गराउनका लागि हलेसी तुवाचुङ नगरपालिकाले ननगरसभाबाटै नीति तथा कार्यक्रम पारित गरेको थियो ।
सो नीति तथा कार्यक्रम अनुसार चालु आर्थिक वर्ष हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले हरेक घरलाई जस्ताको छानो उपलव्ध गराउने कार्यक्रम कार्यन्वयनमा ल्याएको मेयर इवन राईले बताउनुभयो ।