Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बेपत्ता बनेको १९ वर्षपछि घर आइपुगे विज्ञान

    बेपत्ता बनेको १९ वर्षपछि घर आइपुगे विज्ञान


    • शुक्रवार, बैशाख ३ २०७८

    • नेपाल वाइड


    बेपत्ता बनेको १९ वर्षपछि घर आइपुगे विज्ञान
    वेपत्ता भएको दुई दशकपछि आमा, भाई बहिनी र बुहारीका साथमा विज्ञान कोईराला । तस्बिर सौजन्य : सुवास कोईराला

    खोटाङ । बैसाख ३, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ३४ वर्षीय विज्ञान कोईराला बेपत्ता भएको १९ वर्षपछि घर आइपुगेका छन् । १७ वर्षको उमेरमा २०५८ सालमा काठ्माण्डौं सानेपाबाट बेपत्ता भएका विज्ञान बुधबार घर आइपुगेका हुन् । नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाई सुवास कोईरालाले घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पुर्‍याएका हुन् ।

    साविकको चिसापानी–१ का कोईराला परिवार गत पुस अन्तिम साता सुन्दरपुर बसाई सरेका हुन् । लामो समयसम्म वेपत्ता भएपछि परिवारले मायाँ मारिसकेका विज्ञानको आमा देबकुमारी, भाई सुवास र कान्छी बहिनी तुलसासँग झण्डै दुई दशकपछि भेट भएको छ । वियोगपछिको पारिवारिक मिलनले कोईराला परिवारमा खुसी छाएको छ ।

    लामो समयपछि घर फर्किएका कारण विज्ञानले आफ्नै आमा, भाई र बहिनीलाई ठम्याउन सकेका छैनन् । ‘घरमा सानो बहिनी छ’ भनेर नेपालगञ्चबाट चकलेट लिएर आएका विज्ञानले बिवाह गरिसकेकी बहिनी तुलसालाई पनि चिन्न सकेनन् । उनले तुलसालाई हेर्दै ‘अलि–अलि अनुहार मिल्यो तर पहाडमा मेरी बहिनी सानी छन्’ भन्ने गरेका छन् ।

    बाल्यकालमा भाई बहिनीलाई छाडेका विज्ञानले अहिले पनि आफ्नो भाई बहिनी सानै रहेको बताउने गरेका छन् । परिवारका सदस्यलाई ठम्याउन नसकेका विज्ञानले बितिसकेकी मावली हजुरमालाई मात्र फोटो हेरेर चिन्न सकेका छन् । उनी शारीरिकरुपमा मात्र नभएर मानसिक रुपमा समेत रोगी देखिएका छन् । ‘मेरो भाई बहिनी सानो छ पहाडमा भन्नुहुन्छ,’ सुवासले भने, ‘हामी कसैलाई पनि चिन्नु भएको छैन । बुढी भएकीले आमालाई पनि चिन्नु भएको छैन ।’

    मुलुकमा शसस्त्र द्धन्द्धको समय थियो । सेना आएर ‘माओबादी हौ भन्थे’, माओबादीका कार्यकर्ता आएर ‘सेनालाई सहयोग गर्‍यौ’ भन्थे । राज्य र बिद्रोही पक्षको चेपुवामा परेका विज्ञानले त्यहीबेला भारत जाने भन्दै घर छाडेका थिए । तर, उनी भारत नगइ काठ्माण्डौं पुगेको खुलेको छ । विज्ञानको भनाईमा उनी सानेपाबाट अपहरणमा परेका थिए ।

    गाडीमा आएका दुई महिला र एक पूरुषले उनलाई कम्बलले छोपेर बेहोस बनाएर बन्द कोठामा पुर्‍याएका थिए जुन कोठाबाट बाहिरिन उनलाई दुई दशक लाग्यो । कोठामा बन्दी बनाइएको अवस्थामा चरम श्रम तथा यौन शोषण गरेको, यातना दिएको विज्ञानले बताउने गरेका छन् । उनको पेट र खुट्टामा लागेको चोटको खाटा अहिले पनि देखिन्छ ।

    भेरी अञ्चल अस्पतालमा उपचार गर्दा विज्ञानको फियो निकालिएको पुष्टी भएको भाई सुवासले बताए । उनको बीर अस्पताल लगेर उपचार गर्नुपर्ने र त्यसका लागि ७ लाख खर्च लाग्ने बताइएको छ । गत चैत २४ गते नेपालगञ्जबाट प्रकाशित हुने कालपृष्ठ दैनिकको सम्पर्कमा पुगेका विज्ञानलाई जिल्ला प्रहरी कार्यालय बाँकेले उद्धार गरेर सोही स्थानको निलसागर सेवाश्रमको जिम्मा लगाएको थियो ।

    निलसागरले विज्ञानको निःशुल्क स्वास्थ्य जाच गराएपछि प्रहरी र पत्रकारको रोहवरमा आफन्तको जिम्मा लगाएको हो । विज्ञानलाई घरसम्म पुग्ने व्यवस्था जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको थियो । बेपत्ता बनेका विज्ञान र भाई सुवासको चैत २६ गते नेपालगञ्जमा भेट भएको थियो ।

    १९ वर्षसम्म घरबाहिर निस्कन नदिएर बन्धक बनाइएका बिज्ञानलाई चैत १७/१८ गतेतिर राती सुतेको बेला बेहोस पारेर काठ्माण्डौंको बल्खु आसपासको जंगलमा छाडिएको बताइएको छ । त्यसभन्दा दुई तीन दिनअघि नै ‘यसको काम छैन, लगेर फाल्नुपर्छ’ भन्ने सम्बाद सुनेको विज्ञानको भनाई उद्धृद गर्दै सुवासले बताए ।

    जंगलमा छाडिएपछि उनी ट्रकमा झुण्डिएर नेपालगञ्ज पुगेका थिए । आफुलाई विदेशी भाषा बोल्ने महिलाले यौन शोषण गरेको विज्ञानले बताउने गरेका छन् । बुबाको २०५३ सालमा मृत्यु भएपछि मिना, विज्ञान, सुवास र तुलसालाई आमा देवकुमारीले लालन–पालन गरेर हुर्काएकी थिईन् । देवकुमारी हाल ६३ वर्षकी भइसकेकी छन् । उनका दिदी, भाई, बहिनी सबैको बिवाह भइसकेको छ ।

    विज्ञानलाई अपहरण गरेको र बन्धक बनाएको विषयमा प्रहरी अनुसन्धान हुन भने बाँकी नै छ । अर्थात प्रहरी अनुसन्धानबाट यसको पूष्टी हुन बाँकी छ । उनले ‘थोडा–थोडा’ भन्ने हिन्दी शव्द बाहेक अन्य भाषा नेपाली मात्र बोल्ने गरेका छन् ।

    विज्ञानलाई घर ल्याइएसँगै आवश्यक उपचारका लागि सहयोग अभियान सुरु गरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिका समिति उपाध्यक्ष बाजिन्द्र बिष्टले बताए । आर्थिक अवस्था कमजोर भएकाले कोईराला परिवारले उनको उपचारका लागि सहयोगको याचना गरेका छन् ।

    सम्बन्धित समाचार