बिहिवार, बैशाख २ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख २, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटामा सञ्चालित काभ्रेखोला देविथान मुहान कटहरे कुलो निर्माण योजनाको पारदर्शीतामाथि प्रश्न उठेको छ । उपभोक्ता समितिका अध्यक्ष गोबिन्द लामाले कुलो निर्माण योजनाको आयव्याय सार्वजनिक गर्न अस्वीकार गरेको भन्दै स्थानीयले आवाज उठाउन थालेका हुन् ।
योजनामा उपभोक्ता समितिका अध्यक्षले आफुखुसी गरेको, सोधखोज गर्दा पनि योजनाको स्टीमेट, बिल–भर्पाइ, हिसाव–किताव बारे जानकारी नदिइएको स्थानीय उपभोक्ताले गुनासो गरेका छन् ।
कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टको पहलमा सिँचाई मन्त्रालयको बजेटमा आर्थिक वर्ष २०७३/०७४ देखि काभ्रेखोला देविथान मुहान कटहरे कुलो निर्माण आयोजना सुरु भएको हो । सोही योजना अन्तरगत पक्की कुलो निर्माणका लागि आर्थिक वर्ष २०७७/०७८ मा भौतिक पुर्वाधार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दिक्तेलमार्फत २० लाख बजेट विनियोजन भएको थियो ।
सोही बजेटको पारदर्शीताका विषयमा स्थानीयले प्रश्न उठाएका हुन् । बारम्बार माग गर्दा पनि कुलो निर्माण योजनाको स्टीमेट, आयव्याय, कामदारलाई दिएको रकमको मात्रा लगायतका बारेमा स्थानीय बेखबर छन् । अध्यक्षले समन्वय नगरी योजनाको काममा एकलौटी गरेको पुरानो उपभोक्ता समितिका सदस्य रहेका चण्डीराज बिकले बताए ।
‘हामी समितिमा बसेकालाई समेत कति बजेट आए, यसरी खर्च गर्ने, यती खर्च भयो, यती बाँकी छ भन्ने जानकारी भएन,’ बिकले भने, ‘एकलौटी ढंगले आफ्नो खेततिर जाने कुलो बनाउने काम गर्नुभयो । भुक्तानी लिन जानेबेला सही गर्नुपर्छ भन्नुभो, हामीले मानेनौँ, भएको यत्ती हो ।’
योजनाको आर्थिक पारदर्शीताका विषयमा विवाद बढ्दै गएपछि र काममा अवरोध आएपछि काभ्रेखोला देविथान मुहान कटहरे कुलो जल उपभोक्ता समितिका अध्यक्ष लामाले राजीखुसीले भन्दै गत फागुन २४ गते पदबाट राजीनामा दिइसकेका छन् । योजनाको हिसावकितावको खोजी सुरु भएपछि र उपभोक्ता समितिका अध्यक्षको राजीनामा आएपछि योजनाको बाँकी काम अलपत्रको अवस्थामा पुगेको छ ।
अध्यक्ष लामाको राजीनामा आएपछि कार्यबाहक वडाध्यक्ष धनबहादुर राईको उपस्थितिमा फागुन २७ गते टंकराम तामाङको अध्यक्षतामा देविथान मुहान कटहरे कुलो जलउपभोक्ता समिति पुःर्नगठन गरिएको छ । तामाङको अध्यक्षतामा चैत ९ गते बसेको बैठकले योजनाको बाँकी कामको सम्झौताका लागि भौतिक पुर्वाधार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयमा जाने निर्णय गरे पनि हालसम्म काम सुचारु हुने वातावरण बन्न सकेको छैन ।
जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले पुरानो समितिलाई भुक्तानी हुने वातावरण बनेपछि मात्र नयाँ उपभोक्ता समितिसँग सम्झौता हुने बताए । ‘पुरानो उपभोक्ता समितिबाट भएको कामको भुक्तानी पुरानै समितिको नाममा हुन्छ ।
नयाँ समितिबाट भएको कामको रकम नयाँ समितिको नाममा जान्छ,’ प्रमुख ज्ञवालीले भने, ‘पुरानो समितिबाट करिब पाँच लाख बराबरको काम भएको छ । यस विवादका पछाडि पोलिटिक्स पनि घुसेको हुन सक्छ ।’ यस बारेमा प्रतिक्रिया लिनका लागि सम्पर्क गर्दा काभ्रेखोला देविथान मुहान कटहरे कुलो निर्माण आयोजना उपभोक्ता समितिका निवर्तमान अध्यक्ष लामाले फोन उठाएनन् ।
काभ्रेखोला देविथान मुहान कटहरे कुलो निर्माण आयोजनाको २ हजार ७ सय मिटर लामो पक्की कुलो निर्माणका लागि बजेट आएको हो । तर, हालसम्म काभ्रेखोलाबाट साउनेपाटो खोल्सीसम्म मात्र कुलो निर्माण गरिएको छ ।
कुलोलाई साउनेपाटो खोल्सीबाट अगाडि बढाउनुपर्नेमा सिधै तल झारेर डिपिआर नै नगरिएको ठाउँमा १०४ मिटर कुलो निर्माण गरिएको स्थानीयको दावी छ । जलश्रोत तथा सिचाई विकास डिभिजन प्रमुख ज्ञवालीले भने १०४ मिटर कुलो मुल कुलो नभै शाखा कुलो भएको बताए ।