Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    विकास निर्माण

    साप्सु खोला पुल ढलानको तयारी अन्तिम चरणमा

    साप्सु खोला पुल ढलानको तयारी अन्तिम चरणमा


    • बुधवार, बैशाख १ २०७८

    • नेपाल वाइड


    साप्सु खोला पुल ढलानको तयारी अन्तिम चरणमा
    ढलानको तयारी गरिएको खाल्ले र याम्खा जोड्ने साप्सु खोला पुल ।

    खोटाङ । बैशाख १, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुल ढलानको तयारी अन्तिम चरणमा पुगेको छ ।

    करिब एक डेढ महिना म्याद बाँकी रहँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल ढलानको तयारी अन्तिम चरणमा पुगेको हो ।

    ४० मिटर लम्बाई भएको पुलको दुबैतर्फको पिलर ठडिएपछि ढलानको तयारी अन्तिम चरणमा पुगेको निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिका प्रोजेक्ट ईन्चार्ज एबं एकाउन्टेन्ट हरिप्रसाद बरालले बताए । हाल पुलको रड बाँध्ने, फर्मा मिलाउने, टेको मिलाउने, टाईट गर्ने लगायतका काम भइरहेको छ । बैसाख पहिलो हप्ता पुल ढलान गर्नेगरी काम भइरहेको बरालले बताए ।

    ढलान गरेको पुल सुक्न करिब महिना दिन लाग्ने बताइएको छ । ढलानका लागि आवश्यक गिटी र बालुवा तयारी अवस्थामा राखिएको छ । निर्माण कम्पनीले ढलानकाक्रममा लाग्ने करिब २ हजार ५ सय बोरा सिमेन्ट ढुवानी गरिरहेको जनाएको छ ।

    सुर्य एण्ड सन्स प्रालिले २०७८ साल जेठ १७ गते प्रिस्ट्रेस बिम पुल निर्माणको काम सम्पन्न गर्नेगरी २०७६ साल जेठ १७ गते सम्झौता गरेको थियो । स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको पुल दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले २०७६ साल असार ११ गते शिलान्यास गरेका थिए ।

    साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आउ–जाउ गर्ने सवैभन्दा छोटो बाटो खुल्ने अध्यक्ष राईले बताए ।

     

    सम्बन्धित समाचार