Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    डोजर संरक्षणमा नगरपालिकाको चासो

    इतिहास बोकेको डोजर संरक्षणको पखाईमा

    इतिहास बोकेको डोजर संरक्षणको पखाईमा


    • बिहिवार, भाद्र १८ २०७७

    • नेपाल वाइड


    इतिहास बोकेको डोजर संरक्षणको पखाईमा

              कवाडी बनेर दुधकोसी किनारमा अलपत्र मिल्किएको पुरानो डोजर । तस्बिर:नेपाल वाइड

            खोटाङमा सडक विस्तारका लागि २२ वर्षअघि खरिद गरिएको डोजर संरक्षण अभावमा कवाडी बनेको छ । उदयपुरको कटारी–घुर्मी–ओखलढुंगा सडक खण्डको हिलेपानीबाट दिक्तेल जोड्ने सडक निर्माणका लागि तत्कालिन ७६ गाबिसको लगानीमा २०५५ सालमा खरिद गरिएको डोजर संरक्षण अभावमा कवाडी बनेको हो ।

             खोटाङ जोड्ने मुल ढोका खोल्नका लागि खरिद गरिएको डोजर हाल खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाट (ओखलढुंगातर्फ)मा अलपत्र अवस्थामा रहेको छ । खोटाङको साझा सम्पत्तीकारुपमा रहेको डोजर हाल मध्यपहाडी लोकमार्ग भन्दामुनि दुधकोसी किनारमा मिल्किएको छ ।

           खियाले खाइसकेको डोजर फर्सीको लहराले ढाकिएको अवस्थामा देख्न सकिन्छ । नदीको पानीको सतहभन्दा केही मिटरमाथि अड्किएको डोजरलाई कुनै दिन ठूलो बाढीले बगाउने खतरा देखिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताउनुभयो । लामो समयसम्म मध्यपहाडी लोकमार्गको कुनामा मिल्किएको डोजर सडकको डिलमुनि पुर्‍याइएको हो । डोजरको कुनै पनि पाटपुर्जा काम लाग्ने अवस्थामा छैन ।

            कटारीबाट ओखलढुंगादेखि सोलुखुम्बु जोड्नेगरी सडक निर्माण सुरु गरिएपछि खोटाङका तत्कालिन सांसद टंक राईले हिलेपानीबाट दिक्तेल जोड्नेगरी हिले–हलेसी सडक निर्माण गर्ने परिकल्पना अघि सारेपछि तत्कालिन जिविसमार्फत डोजर खरिद गरिएको थियो ।

            तत्कालिन सांसद राईको योजना सफल बनाउनका लागि तत्कालिन जिल्ला विकास समिति खोटाङका सभापति पर्शुराम कार्की, हरि रोका लगायत लागि परेको तत्कालिन जिबिस सदस्यहरु बताउँछन् । प्रतिगाबिस एक लाखका दरले संकलन गरिएको रकममध्ये ४२ लाखमा डोजर खरिद गरिएको थियो । अन्य रकमबाट एउटा ट्याक्टर खरिद गरिए पनि हाल ट्याक्टरको अत्तोपत्तो छैन । कतिपय गाबिसले भने डोजर र ट्याक्टर खरिदका लागि तोकेको रकम बिनियोजन गर्न अस्वीकार गरेको थियो ।

              खोटाङको साझा सम्पत्तीकारुपमा रहेको डोजर प्रयोग गरेर ओखलढुंगाको हिलेपानीबाट जयरामसम्म करिब ९ किलोमिटर सडक खनिएको थियो । सडक खन्दै जयराममा दुधकोसी किनारमा आइपुगेको डोजर नदी नतार्दै कवाडीमा परिणत हुन पुगेको हो ।

           २०५७ सालताका पहिला अप्पर माथिल्लो सगरमाथा कृषि बिकास आयोजना र त्यसपछि ग्रामिण पहुँच कार्यक्रम (र्‍याप)सँग जयराम (दुधकोसी किनार)बाट हलेसीसम्मको सडक निर्माणमा हेभ्भी मेसिन प्रयोग नगर्ने सम्झौता भएपछि सो डोजर खोटाङ नतार्दै थन्किएको थियो ।

            सडकमै थन्किएको डोजरको संरक्षणमा ध्यान दिइएन । उपयोगमा नआउने भएपछि दुधकोसी नतार्दै लामो समयसम्म राखिएपछि डोजर कवाडीमा परिणत भएको हो । कवाडीमा परिणत भएपनि खोटाङको सामुहिक भावना बोकेको तथा साझा सम्पत्तीको प्रतिककारुपमा रहेको कवाडी डोजर संरक्षणको चर्चा हुने गरेको छ ।

    डोजर संरक्षणमा नगरपालिकाको चासो

             यसैबीच, जिल्ला समन्वय समितिको २०७६ साल असार ९ गतेको बैठकले सडकको ढोका खोल्ने लक्ष्यकासाथ खरिद गरिएको डोजरलाई संरक्षणका लागि स्थानीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । इतिहास बोकेको डोजर संरक्षणका लागि माग आएमा हस्तान्तरण गर्ने निर्णय गरेपछि सोही वर्षको असार २६ गते हलेसी तुवाचुङ नगरपालिकाले इतिहास बोकेको डोजर संरक्षण गर्ने भन्दै जिल्ला समन्वय समितिलाई पत्राचार गरेको थियो ।

            सोही आधारमा जिल्ला समन्वय समितिले संग्रहालय बनाएर डोजरको संरक्षण गर्नका लागि असार २७ गते नगरपालिकालाई डोजर हस्तान्तरण गरेको थियो । यद्यपी, कवाडीकारुपमा थन्किएको डोजरलाई संग्रहालय बनाएर राख्ने सोच बनाइएपनि हालसम्म उपयुक्त विकल्पको टुंगो नलागेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । जिसस प्रमुख चाम्लिङले भने ऐतिहासिक धरोहरको रुपमा रहेको डोजर संरक्षण हुने बिश्वास गरेका छन् । ‘संग्रहालय निर्माण गरेर डोजर संरक्षणका लागि नगरपालिकालाई जिम्मेवारी दिइएको छ,’ चाम्लिङले भने, ‘हामीलाई बिश्वास छ, ऐतिहासिक धरोहरको संरक्षण हुने छ ।’

    सम्बन्धित समाचार