शनिवार, भाद्र १३ २०८३
नेपाल वाइड
खोटाङ, १३ भदौ । खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँका ११ जनालाई नियन्त्रणमा लिएको छ । धार्मिक तथा पर्यटकीय स्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लाग्ने मेला भर्न गएका बेला बिहीबार राति भएको विवादपछि कुटपिट हुँदा शिक्षक राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार शिक्षक राईको ज्यान जानेगरी भएको कुटपिटमा सुङ्देलकै ११ जना व्यक्ति संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक खड्काका अनुसार घटनास्थलसम्म पैदल जानुपर्ने र त्यहाँ टेलिफोन नेटवर्क समेत काम नगर्ने भएकाले थप विवरण आउन बाँकी छ ।
प्रारम्भिक अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएको र घटनास्थलबाट प्रहरी टोली फर्किएपछि थप कुरा खुल्ने प्रहरीको भनाई छ । पक्राउ परेका आरोपितसहित प्रहरी टोली शनिबार बेलुकासम्म जिल्ला प्रहरी कार्यालय भोजपुर आइपुग्ने प्रहरीले जनाएको छ । राहत कोटाअन्तर्गत निम्न माध्यमिक तहमा कार्यरत शिक्षक राईको हत्या आरोपमा नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
हत्या सामूहिक कुटपिटबाट भएकाले दोषी कोही पनि उम्कन नदिने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार ऋषितर्पणी पूर्णिमादेखि लगातार तीन दिन विद्यालय बिदा हुँदा संखुुवासभा गएर फर्कने भन्दै शिक्षक राई बिहीबार गाउँबाट हिँडेका थिए । उनी संखुवासभाबाट फर्किँदा सालपा पोखरी पुगी बिहीबार राति गाउँलेहरूसँगै बसेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार सालपा पोखरी नजिकै आयोजित धार्मिक मेला भर्ने क्रममा बिहीबार दिउँसो शिक्षक राईको सुङ्देलकै माइकल नामले चिनिने निशान राईसँग विवाद भएको थियो । दिउँसोकै विवादपछि राति योजनाबद्ध तरिकाले गाउँलेले उठाएर कुटपिट गरी हत्या गरेको मृतकका आफन्तको आरोप छ ।
घटना भएको क्षेत्र भोजपुर जिल्लाभित्र पर्ने भएकाले अनुसन्धान तथा कारबाहीको सम्पूर्ण प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले नै गर्ने कानूनी व्यवस्था रहेको र आवश्यक परे खोटाङबाट थप सहयोग पुर्याइने जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।