Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भोटेकोशी बाढीमा खोटाङका सेनाका लेसनायकसहित आठ जना सम्पर्कविहीन

    भोटेकोशी बाढीमा खोटाङका सेनाका लेसनायकसहित आठ जना सम्पर्कविहीन


    • बिहिवार, भाद्र ११ २०८३

    • नेपाल वाइड


    भोटेकोशी बाढीमा खोटाङका सेनाका लेसनायकसहित आठ जना सम्पर्कविहीन

    खोटाङ, ११ भदौ । रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा रसुवा र आसपासका जिल्लामा रहेका खोटाङका आठ व्यक्ति भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन् । यसमा नेपाली सेनाका लेसनायक पवन खत्री (दाहाल) समेत रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    सम्पर्कविहीन भएकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३२ वर्षीय सेनाका लेसनायक पवन खत्री दाहाल, सोही नगरपालिका–४ खाल्लेका २७ वर्षीय सुर्जबहादुर परियार, वडानम्वर(१५ विजयखर्कका ४३ वर्षीय कविन राई, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका ४१ वर्षीय बालकुमार तामाङ, वडानम्वर(३ ऐसेलुखर्कका ५३ वर्षीय युवराज राई र ३३ वर्षीय यसबहादुर राई, सोही गाउँपालिका–७ माक्पाका ६० वर्षीय तारानाथ थापा र रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका पुष्प भट्टराई परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतका अनुसार सम्पर्कविहिन बनेका सबै व्यक्ति विभिन्न पेशा–व्यवसायका सिलसिलामा रसुवा र नुवाकोटमा रहेका बेला भोटेकोशीमा भीषण बाढी आएपछि परिवारसँगको सम्पर्क टुटेको आफन्तमार्फत जानकारी प्राप्त भएको बताए । सम्पर्कविहीन लेसनायक दाहाल नेपाली सेनाको विष्णु दल गणअन्तर्गत रसुवाको मैलुई आर्मी पोष्टमा कार्यरत रहेको जनाइएको छ ।

    बाढीको खबर पाएपछि सम्पर्क गर्दा उनको मोबाइल बन्द रहेको पारिवारिक स्रोतले बताएका छन् । चीनतर्फबाट भदौ–१० गते आएको बाढीपछि सम्पर्कविहीन भएका परियार रसुवाको सुरुङमार्ग निर्माणमा कार्यरत रहेको जनाइएको छ भने विजयखर्कका राई ट्रक चालकको काम गर्दै आएको स्थानीय भूपेन्द्र राईले बताए ।

    काठमाडौंमा बसेर पथ प्रदर्शकको काम गर्दै आएका जलेश्वरीका तामाङ र तीन जना राई चीन–नेपाल सीमानाबाट सम्पर्कविहीन भएको तामाङका आफन्त बिक्रम तामाङले जानकारी दिए । माक्पाका थापा नुवाकोटस्थित एउटा होटलमा सुरक्षागार्डको काम गर्दै आएको जनाइएको छ भने लामीडाँडाका भट्टराई विद्युत प्राधिकरणका कर्मचारी भई रसुवास्थित त्रिशूली जलविद्युत कम्पनीमा कार्यरत रहेको र बुधबारदेखि नै सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।

    सम्पर्कविहीन भएका व्यक्तिका परिवारले खोजी कार्यलाई तीव्रता दिन नेपाल सरकार तथा सम्बन्धित संयन्त्रसँग अपिल गरेका छन् भने आफन्तहरू चिन्तित बनेका छन् । जिल्ला प्रशासन कार्यालय खोटाङले बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिको अवस्था यकिन गर्न सूचना प्रकाशित गरी सम्बन्धित निकाय र आफन्तलाई जानकारी दिन आग्रह गरेको छ ।

    सम्बन्धित समाचार