शुक्रवार, आषाढ ५ २०८३
नेपाल वाइड
खोटाङ, ५ असार । बैंकिङ कसुर गरेको आरोपमा फरार रहेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा निवासी २७ वर्षीय सरोज राईलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको मन्थलीमा दर्ता भएको किटानी जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले सरोजलाई बिहीबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार, मुद्दा दर्ता भएपछि लुकिछिपी बसेका सरोजलाई डिकुवास्थित दाम्लीबाट बुधबार पक्राउ गरिएको थियो ।
पक्राउ परेका सरोजलाई कानूनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको प्रहरीले जनाएको छ । किटानी जाहेरी अनुसार सरोजसहित तीन जनाले मिलेमतोमा वित्तीय संस्थामा बचतकर्ताले जम्मा गरेको ७२ लाख ३७ हजार ३३५ ठगी गरेका छन् ।
उनीहरूले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४ साँगामा सञ्चालित सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालयको रकम सङ्गठित रूपमा हिनामिना गरेको आरोप लागेको छ ।
वित्तीय संस्थाकी प्रमुख कार्यकारी अधिकृत बेलुमाया मगरको तर्फबाट सरोजसहित तीन व्यक्ति विरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको थियो । सरोज पक्राउ परे पनि बाँकी दुई जना अझै फरार रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजन तिम्सिनाका अनुसार फरार आरोपितहरूको खोजी कार्य जारी छ ।
जाहेरीमा उल्लेख भए अनुसार सरोज र अन्य दुई व्यक्ति उक्त वित्तीय संस्थामा कार्यरत रहँदा नै उक्त ठगी काण्डमा संलग्न भएका थिए । उनीहरूले संस्थाको ऋण तिर्न बाँकी केन्द्र नम्बर ५ र १७ का ४३ जना सदस्यको नाममा झुटो लगानी प्रवाह गरेको देखाउने किर्ते कागजात तयार पारी बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।