Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    संघीय सरकारले बेवास्ता गरेपछि जनस्तरबाट फोक्सिङटार पुल पुनर्निर्माणको पहल थालियो, १५१ सदस्यीय समिति गठन

    संघीय सरकारले बेवास्ता गरेपछि जनस्तरबाट फोक्सिङटार पुल पुनर्निर्माणको पहल थालियो, १५१ सदस्यीय समिति गठन


    • मंगलवार, आषाढ २ २०८३

    • नेपाल वाइड


    संघीय सरकारले बेवास्ता गरेपछि जनस्तरबाट फोक्सिङटार पुल पुनर्निर्माणको पहल थालियो, १५१ सदस्यीय समिति गठन
    खोटेहाङ गाउँपालिका कार्यालय खोटाङबजारमा मंगलबार बसेको सर्वपक्षीय भेला ।

    खोटाङ, २ असार । दुई वर्षअघि भीषण बाढीले बगाएको खोटाङ–उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटार मोटरेबल पुल पुनर्निर्माणका लागि संघीय सरकारले बजेट नछुट्याएपछि खोटेहाङ गाउँपालिकाले जनस्तरबाट पहल थालेको छ । गाउँपालिका कार्यालय खोटाङबजारमा मंगलबार बसेको सर्वपक्षीय भेलाले गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’को संयोजकत्वमा १५१ सदस्यीय फोक्सिङटार पुल पुनर्निर्माण पहल समिति गठन गरेको छ ।

    समितिले माथिल्लो तहका सरकारसँग आवश्यक बजेटका लागि डेलिगेसन लैजाने र बजेट नपाएमा आफ्नै पहलमा पुनर्निर्माण अगाडि बढाउने निर्णय गरेको छ । गाउँपालिका प्रमुख मुक्तिले संघीय सरकारको कार्यक्रममा पुल पुनर्निर्माणका लागि बजेट नपरेको र बजेट बन्नुअघि नै आग्रह गर्दा पनि सुनुवाइ नभएको बताए । “सबै स्थानीय तहसँग कुरा भएको छ । प्राविधिक मूल्याङ्कन गरेर पुनर्निर्माण सुरु गर्छौँ,” पालिका अध्यक्ष राईले भने ।

    गाउँपालिका उपप्रमुख रुपेश राईले पुल पुनर्निर्माणमा करिब १५ करोड आवश्यक पर्ने अनुमान रहेको जानकारी दिँदै सर्वप्रथम प्राविधिक टोली खटाएर लागत सर्भेक्षण गर्ने र प्रतिवेदन आएपछि काम सुरु गर्ने बताए । “संघीय सरकारले पक्षपात गरेपछि चन्दा संकलन गरेर पुल बनाउने निर्णय गरेका हौँ,” राईले भने। सर्वपक्षीय भेलामा जिल्लाका सबै स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध नागरिकसँग चन्दा संकलन अभियान चलाउने निर्णय गरिएको छ । जिल्लाका कर्मचारी र जनप्रतिनिधिले एक महिनाको तलब र सेवासुविधा जम्मा गरे पुल बनाउन पुग्ने सहभागीले बताएका छन् ।

    सहभागीहरूले संघीय सरकारले खोटाङलाई तराईसँग विच्छेद गर्न खोजेको आरोप पनि लगाएका छन् । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङटार पुल वि.सं. २०८१ असोज १२ गते देशव्यापी भीषण बाढीले बगाएको थियो । उक्त पुल खोटाङलाई पूर्वी तराईका विभिन्न जिल्लासँग जोड्ने छोटो र सिधा मार्गमा पर्ने भएकाले यसको अभावमा जिल्लावासीले दैनिक सास्ती भोग्दै आएका छन् । पुल पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थमन्त्रालयसमक्ष बजेट माग गरेको भए पनि अहिलेसम्म बजेट व्यवस्था हुन सकेको छैन ।

    सम्बन्धित समाचार