सोमवार, जेठ २५ २०८३
नेपाल वाइड
खोटाङ, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको प्रथम जिल्ला अधिवेशनमा मुकुन्दकृष्ण थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका छन् । आइतबार साँझ दिक्तेलबजारस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा सम्पन्न अधिवेशनमा सर्वसहमति नजुटेपछि निर्वाचन गरिएको थियो । सभापति पदमा थापाले ७८ मत ल्याउँदा प्रतिद्वन्द्वी ओजोनबाबु आचार्यले २८ मत मात्र प्राप्त गरे ।
यसअघि २०८१ पुस १३ गतेको प्रथम जिल्ला भेलामा पनि थापा सभापतिमा निर्वाचित भएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका स्थायी बासिन्दा थापा पेशाले सिभिल इन्जिनियर हुन् । उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका छन् । सचिवमा पर्शुराम थापाले ७१ मत ल्याएर उद्धवप्रसाद आचार्यलाई (२८ मत) पराजित गरे भने सहसचिवमा राजन अधिकारी ६४ मतसहित विजयी भए ।
सदस्यमा प्रकाश अधिकारी (५२ मत) र केशरबहादुर श्रेष्ठ (२९ मत) निर्वाचित हुँदा चन्द्रबहादुर परियार निर्विरोध चयन भए । एघार सदस्यीय जिल्ला कार्यसमितिको पहिलो बैठकले थप तीन महिला सदस्य चयन गर्ने जनाइएको छ । निर्वाचन क्षेत्र नम्बर–१ (क) मा लवबहादुर गुरुङ ‘लक्की’ संयोजक, तुलाबहादुर खत्री सचिव र भीमण गुरुङ सदस्य चयन भएका छन् भने क्षेत्र नम्बर–२ (ख) को अधिवेशन हुन बाँकी रहेको छ ।
अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय सदस्य सरिता ज्ञवालीले गरेकी थिईन् । केन्द्रीय सदस्य ज्ञवालीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । जिल्लाका दश स्थानीय तहमध्ये आठको प्रतिनिधि अधिवेशनमा सहभागी भएको र प्राविधिक कारणले दुईमा अधिवेशन हुन बाँकी रहेको जिल्ला सभापति थापाले जानकारी दिए ।