आइतवार, जेठ २४ २०८३
नेपाल वाइड
खोटाङ, २४ जेठ । जेठ २२ गते शुक्रबार साँझको भारी वर्षापछि पङ्खुखोलामा आएको भीषण बाढीले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तरगतको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड शनिबार साँझबाट पुनः सञ्चालनमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीको संयुक्त प्रयासले सडक खुलाइएको हो ।
नगरपालिकाले स्काभेटर र सेना तथा प्रहरीले जनशक्ति उपलब्ध गराएका थिए । सडक खुलेपछि भोजपुर–दिक्तेल–काठमाडौँ र काठमाडौँ–दिक्तेल–भोजपुर मार्गमा बस, सुमो र मोटरसाइकलको आवतजावत सहज भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए । पङ्खुखोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले करिब २५ मिटर सडक अवरुद्ध बनाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
यही बाढीले जेठ १७ गते श्रम संस्कृति पार्टीका श्रमदाताले तीन दिन लगाएर निर्माण गरेको काठे पुल पनि बगाएको छ । पक्की पुल अभावमा अटो र मोटरसाइकल आवतजावतका लागि बनाइएको काठे पुल बगाएपछि पुनः बाढी आउँदा समस्या हुने स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
वि.सं. २०७३ मै थालिएको पङ्खुखोलाको मोटरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण अझै अलपत्र रहेको छ । पक्की पुल नहुँदा सवारी साधन खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता कायमै छ ।
यसैबीच, बाढीले मध्यपहाडी लोकमार्गकै साप्सुखोलामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ र साकेला गाउँपालिका–१ को सीमानामा निर्माण व्यवसायीले प्रयोग गर्दै आएको ब्रेकर पनि बगाएको छ । शुक्रबारको भीषण वर्षाले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्, जसका कारण यात्रुहरू पैदल हिँड्न बाध्य भएका छन् । जिल्लाका अधिकांश ग्रामीण सडक कच्ची अवस्थामा रहेकाले प्रत्येक वर्ष जेठदेखि कात्तिक अन्तसम्म करिब छ महिना यात्रुहरुलाई सास्ती हुने गरेको छ ।