बुधवार, बैशाख ३० २०८३
नेपाल वाइड
खोटाङ, ३० बैसाख । खोटाङमा एसइई परीक्षामा दिक्तेल इंलिस बोर्डिङ स्कुलका छात्र÷छात्राले उत्कृष्ट अंक ल्याएका छन् । गत चैत २९ गते सकिएको एसइई परीक्षामा दिक्तेल इंलिस बोर्डिङ स्कुलका छात्र/छात्राले जिल्लामै सर्बोत्कृष्ट अंक ल्याएका हुन् । बैसाख २८ गते राती सार्वजनिक नतिजा अनुसार दिक्तेल इंलिस बोर्डिङ स्कुलका छात्र अभय सिंले ३.९५ जिपिएसहित जिल्लामै प्रथम स्थान प्राप्त गरेका छन् ।
यस्तै, दिक्तेल इंलिस बोर्डिङ स्कुलकै आयुष खनाल ३.९२ जिपिएसहित जिल्ला दोश्रो र रोजन थापा ३.९१ अंक सहित जिल्ला तेश्रो भएका छन् । सामुदायीक विद्यालयलाई पछि पार्दै दिक्तेल इंलिस बोर्डिङ स्कुलले जिल्ला प्रथम, दोश्रो र तेश्रो स्थान ओगटेको शिक्षा विकास तथा समन्वय इकाई, खोटाङका प्रमुख तीर्थबहादुर बिश्वकर्माले बताए ।
सामुदायीक विद्यालयतर्फ भने सरस्वती मावि दिक्तेलकी छात्रा दिपीका श्रेष्ठ ३.८६ जिपिएसहित प्रथम भएकी छन् । यस्तै, ३.८३ जिपिए सहित त्रिभुवन मावि ऐसेलुखर्ककी स्पन्दना राई दोश्रो र ३.८२ जिपिएसहित सरस्वती मावि दिक्तेलकी छात्रा डेनिसा अधिकारी तेश्रो भएकी छन् ।
खोटाङमा कुल २ हजार ८५७ विद्यार्थी परिक्षामा सहभागी भएकामा ६५.४२ प्रतिशत अर्थात १ हजार ७०५ जना उत्तिर्ण भएका छन् । साधारणतर्फ १ हजार ६५५ र प्राविधिकधारतर्फ ५० जना मात्रै उत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयले जनाएको छ ।
यस्तै, ९०१ जना विद्यार्थी अनुत्तिर्ण भएका छन् । साधारणतर्फ ७९२ र प्राविधिकधारतर्फ १०४ जना ‘ननग्रेडेड’ भएका छन् । ग्रेडबृद्धिको नतिजा भने आउन बाँकी छ । यसपल्टको ग्रेडवृद्धिको परीक्षा आगामी असोज १ गतेदेखि हुने शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयले जनाएको छ । जिल्लामा १०० वटा सामुदायीक र ५ वटा संस्थागत गरि १०५ मावि छन् । गत वर्ष जिल्लामा एसइईमा ५४.९६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।