सोमवार, बैशाख २८ २०८३
नेपाल वाइड
खोटाङ, २८ वैशाख । खोटाङ मूलका साहित्यकार विष्णुभक्त राई ‘विभरा किराती’को चौथो कृति-कविता सङ्ग्रह ‘आदिम फूल’ शनिबार ललितपुरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । वन प्रकृति स्कूलको सभाहलमा आयोजित कार्यक्रममा प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमले औपचारिक रूपमा सङ्ग्रह विमोचन गरे ।
३८ वटा फुटकर कविता समेटिएको यस सङ्ग्रहमा आदिवासी जनजाति समुदायको अवस्था, किराती सभ्यता र संस्कृतिका साथै नेपाली समाजका वर्गीय, जातीय, सांस्कृतिक र राजनीतिक परिवेशलाई समेटिएको छ । विमोचन कार्यक्रममा बोल्दै डा. गौतमले सङ्ग्रहमा चित्रात्मक र सङ्केतात्मक शक्तिशाली कविताहरू रहेको बताउँदै लेखकलाई निरन्तर सशक्त साहित्य सिर्जना गर्न आग्रह गरे ।
समालोचक डा. हेम भण्डारीले भूमिकामा सङ्ग्रहमा आदिवासी पहिचान, सांस्कृतिक प्रतिरोध र स्वाधीनता चेतजस्ता विषय समेटिएको उल्लेख गरेका छन् भने समालोचक डा. सुरेश हाँचेकालीले यस सङ्ग्रहले सांस्कृतिक पहिचान स्थापित गर्न ठूलो भूमिका निर्वाह गर्ने बताए ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ कुइपामा जन्मिएका विभरा किराती हाल ललितपुरमा बसेर पवन प्रकृति स्कूलमा सहायक प्रधानाध्यापकका रूपमा कार्यरत छन् । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर र कानूनमा स्नातक उत्तीर्ण उनले यसअघि ‘सुनको फूल’ गीति सङ्ग्रह र ’ताराहरुको बस्तीमा’ कविता सङ्ग्रहलगायत कृतिहरू प्रकाशित गरिसकेका छन् ।