शनिवार, बैशाख १२ २०८३
नेपाल वाइड
खोटाङ, १६ वैशाख । खोटाङको बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो प्रतिमा अनावरण तथा यलम्बर पार्क उद्घाटन कार्यक्रमलाई लिएर नगरपालिका र वडा कार्यालयबीच विवाद चर्किएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले दुवै कार्यक्रम तत्काललाई स्थगित गर्न आग्रह गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडानम्बर(१४ बुइपाका वडाध्यक्ष दिनेश राईले वैशाख ९ गते पत्रकार सम्मेलन गरी वैशाख १८ गते सांसद हर्कराज राई ‘हर्क साम्पाङ’बाट शालिक अनावरण तथा पार्क उद्घाटन गराउने जानकारी दिएका थिए ।
त्यसको तीन दिनपछि वैशाख १२ गते नगरपालिकाले पनि पत्रकार सम्मेलन गरी कोशी प्रदेशका पर्यटनमन्त्री भीम पराजुली र किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताछोबाट वैशाख १७ गते संयुक्त रूपमा उद्घाटन गर्ने घोषणा गरेपछि विवाद सुरु भएको थियो । वैशाख १३ गते प्रमुख जिल्ला अधिकारी रेखा कँडेलको समन्वयमा छलफल भई आयोजक नगरपालिका रहने र मुन्दुमविद् वा ज्येष्ठ नागरिकलाई प्रमुख अतिथि बनाउने सहमति भए पनि कार्यान्वयन नभएपछि दुवै पक्ष आ–आफ्नो मितिमा अडान कायम राखेका थिए ।
विवाद थप चर्किएपछि जिल्ला समन्वय समिति उपप्रमुख सुरेश तामाङको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूसहितको सर्वदलीय बैठकले दुवै दिनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो ।
यस निर्णयलाई नगरकार्यपालिकाको बैठकले अनुमोदन गरी जिल्ला प्रशासनलाई अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी कँडेलका अनुसार नगरपालिका र वडाले छुट्टाछुट्टै मितिमा फरक–फरक व्यक्तिबाट कार्यक्रम गर्दा अप्रिय घटना हुने सम्भावना देखियो । जिल्लाको शान्तिसुरक्षा र सामाजिक सद्भावलाई मध्यनजर गर्दै दुवै पक्षलाई कार्यक्रम स्थगित गर्न सार्वजनिक सूचना जारी गरेका छौँ ।
कोशी प्रदेशको ७० र नगरपालिकाको ३० प्रतिशत लगानीमा करिब १४ करोड लागतमा निर्मित उक्त पार्क वि.सं. २०७८ असार २८ मा सम्झौता भएको थियो । १८ महिनामा सम्पन्न गर्ने लक्ष्य भए पनि डिजाइन परिवर्तनका कारण पटकपटक म्याद थपिँदै चार वर्षपछि गत वर्ष मात्र निर्माण सम्पन्न भएको थियो ।
गत वर्षको जेठ १८ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट उद्घाटन गर्ने योजना पनि पहिचान पक्षधरको अवरोधका कारण स्थगित भइसकेको थियो । प्रशासनले साकेला उँभौली, वैशाख पूर्णिमा, बुद्ध जयन्ती र मजदुर दिवसलगायतका पर्वहरू सभ्य र सुसंस्कृत रूपमा मनाउन पनि सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ ।