बिहिवार, बैशाख १० २०८३
नेपाल वाइड
खोटाङ, १० वैशाख । सरकारले हप्ताका दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि पाठ्यभार पूरा गर्न नसकिने भन्दै खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
गाउँ शिक्षा समितिको मङ्गलबारको बैठकले वैशाख १३ गते आइतबारदेखि सबै विद्यालयमा पठन–पाठन सुरु गर्ने निर्णय गरेको हो । वैशाख १० गतेसम्म भर्ना अभियान सम्पन्न गरी त्यसपछि तुरुन्त कक्षा सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा संयोजक तथा वडाध्यक्ष वसन्त राईले बताए । मन्त्रिपरिषद्ले चैत १२ गते शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
सरकारले शैक्षिक सत्र २०८३ का लागि वैशाख १५ देखि भर्ना र वैशाख २१ देखि पठन–पाठन सञ्चालन गर्न निर्देशन दिएकोमा जिल्लाका अन्य स्थानीय तह र निजी विद्यालयहरू सोही निर्देशन अनुसार चल्ने तयारीमा छन् । जिल्लामा ४८३ सामुदायिक र १६ निजी विद्यालय सञ्चालनमा रहेका छन् ।