मंगलवार, बैशाख ८ २०८३
नेपाल वाइड
खोटाङ, ८ वैशाख । सोल्मा स्पोर्टस् क्लबको आयोजनामा सञ्चालित ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ पुरुष फुटबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाले आफ्नो विजयी सुरु गरेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा सोल्मा र नेर्पाबीचको भिडन्त निर्धारित समयभित्र गोलरहित बराबरीमा सकिएपछि ट्राईब्रेकरमा पुगेको थियो । रोमाञ्चक ट्राईब्रेकरमा सोल्माले नेर्पालाई ४–३ गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो । दोस्रो खेलमा भने बाँझेच्यानडाँडाले दोर्पालाई २–१ गोल अन्तरले हराउँदै सहज जीत हात पारेको थियो ।
जिल्लाका १४ वडाको सहभागितामा सोल्माको आफ्नै खेल मैदानमा सञ्चालित उक्त प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र उप–प्रमुख विशन राईले संयुक्त रूपमा क्लबको लोगोसहितको बेलुन उडाएर प्रतियोगिताको उद्घाटन गरेका थिए । वैशाख ९ गते छनोट चरणका चार खेल हुनेछन् ।
खार्मी र डिकुवा, दिक्तेल र इन्द्रेणीपोखरी, बुइपा र बहुनीडाँडा र रतन्छा र अर्खौलेबीच प्रतिष्पर्धा हुनेछ ।क्लब अध्यक्ष ध्रुवविक्रम राईका अनुसार उपाधि विजेतालाई १ लाख ११ हजार १११ र उपविजेतालाई ६६ हजार ६६६ नगद पुरस्कार प्रदान गरिनेछ । सेमिफाइनलिस्ट दुई वडाले २५ हजार ५५५ प्रत्येक पाउनेछन् ।
बेस्ट प्लेयरलाई ५ हजार ५५५ र बेस्ट किपर, डिफेन्डर, मिडफिल्डर, हाई स्कोरर, बेस्ट कोच र राइजिङ प्लेयर प्रत्येकलाई २ हजार २२२ पुरस्कार दिइनेछ । यसका साथै प्रतियोगिता समापनमा जिल्लाका एक पत्रकारलाई ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’ पनि प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी सबै खेलाडी एउटै वडाका हुनुपर्ने अनिवार्य नियम छ ।
किर्ते खेलाडी सहभागी गराउने वडालाई २० हजार जरिवाना र तीन वर्षसम्म प्रतिबन्धको कडा व्यवस्था गरिएको छ । वि.सं. २०७० मा स्थापित सोल्मा स्पोर्टस् क्लब ‘सभ्य समाज निर्माणको निम्ति अनिवार्य खेलकुद’ भन्ने उद्देश्यसहित प्रत्येक वर्ष यो वडास्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ ।