शुक्रवार, चैत्र २७ २०८२
नेपाल वाइड
खोटाङ, २७ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले देशभरका २७६ नगरपालिकामध्ये सर्वोत्कृष्ट स्थान हासिल गर्दै प्रतिष्ठित ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’ प्राप्त गरेको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका सूचांकमा ९० अंक हासिल गरेपछि नेपाल नगरपालिका संघले उक्त सम्मान प्रदान गरेको हो ।
संघको ३३ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा नगरप्रमुख विमला राईले सभामुख डोलप्रसाद अर्यालको हातबाट अवार्ड ग्रहण गरिन् । आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्वमा उल्लेखनीय सुधार गरेको यस नगरपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा समेत ७२.५५ अंकसहित लगातार दोस्रोपटक जिल्ला प्रथम भएको छ ।
बालिका बचत, ब्याजमुक्त व्यवसाय अनुदान र रैथाने बाली प्रवद्र्धन जस्ता कार्यक्रमले नगरपालिकाको छवि थप जनमुखी देखिएको छ । यसअघि हलेसी तुवाचुङले कोशी प्रदेशको ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ पनि प्राप्त गरिसकेको छ ।
९० वटा विद्यालय सञ्चालनमा रहेको यस नगरपालिकाले शिक्षा, महिला सशक्तीकरण र बालिका संरक्षणमा गरेका कार्यका लागि जिल्ला समन्वय समिति खोटाङबाट समेत यसै वर्ष सम्मान पाएको छ ।