सोमवार, चैत्र २३ २०८२
नेपाल वाइड
खोटाङ, २३ चैत । हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ घर पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । चैत २ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई पुनः सोही ठाउँमा स्थापित गराउन नगरपालिकाले ५० लाख रुपैयाँ बराबरको जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो ।
हावाहुरीले छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई प्राविधिक मूल्याङ्कनको आधारमा जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । विपदमा परेका नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन नगरपालिकामा विपद् व्यवस्थापन कोष स्थापना गरिएको छ ।
चैत २ गते राति वर्षासँगै चलेको हावाहुरीले १७० भन्दा बढी घरहरूमा क्षति गरेको थियो । जसमध्ये पूर्ण क्षति भएका ९४ घरलाई जस्तापाता उपलब्ध गराइएको उनले बताइन् । जस्तापाता प्राप्त गर्ने पीडित घरपरिवारले छाना लगाउने काम आफै गर्नुहुन्छ । बाँकी पीडित परिवारलाई नगरपालिकाको तर्फबाट त्रिपाल लगायतका राहत सामग्री खरिद गरेर उपलब्ध गराइएको छ । नगरपालिकाले पाँच घर एकल महिला, एक घर एकल पुरुष र चार घर जङ्गलमा बसिरहेका नगरवासीलाई समेत जस्तापाता उपलब्ध गराएको जनाइएको छ ।
सम्बन्धित वडा कार्यालयको सिफारिस तथा प्राविधिक मूल्याङ्कनको आधारमा प्रतिघर ४० हजारदेखि ६० हजार रुपैयाँसम्मको जस्तापाता उपलब्ध गराइएको नगरप्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । एघार वडा रहेको हलेसी तुवाचुङले वडानम्वर–१ बाहुनीडाँडाका ११, वडानम्वर–२ डिकुवाका दश, वडानम्वर–३ च्यास्मिटारका ३२, वडानम्वर–४ बडहरेका चार, वडानम्वर–५ दुर्छिमका दुई, वडानम्वर–६ सल्लेका तीन, वडानम्वर–७ महादेवस्थानका १२, वडानम्वर–८ धितुङका दश र वडानम्वर–११ राजापानीका दश घरलाई जस्तापाता उपलब्ध गराएको छ ।
नगरपालिकाले दिएको जानकारी अनुसार निःशुल्क जस्तापाता प्राप्त गर्ने नगरवासीले काठपात तथा किलाकाँटी आफै जाहो गरेर छाना लगाउनुपर्नेछ । हावाहुरी पीडित च्यास्मिटारका १७ घरपरिवारलाई सोही ठाउँका शिक्षकहरूले चन्दा सङ्कलन गरेर राहत उपलब्ध गराएको थियो । स्थानीय पिपलटार आधारभूत विद्यालयका प्रधानाध्यापक कुम्भराज राईको संयोजकत्वमा गठित चन्दा सङ्कलन समितिले चैत ११ गते पीडित परिवारलाई राहत सामग्री उपलब्ध गराएको थियो ।
दश स्थानीय तह रहेको जिल्लामा चैत २ गतेको हावाहुरीले लाखौंको क्षति गरेको प्रहरीले जनाएको छ । हावाहुरीले जिल्लाका दशवटै स्थानीय तहमा क्षति गरेपनि अहिलेसम्म हलेसी तुवाचुङ नगरपालिकाबाहेक अन्य स्थानीय तहले राहत तथा क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढाएको छैन । रातको समयमा चलेको हावाहुरीले विद्यालय भवन, प्रहरी चौकी तथा कृषिबालीमा समेत ठूलो क्षति गरेको छ । कृषिमा भएको क्षतिको विवरण सङ्कलन गरेर क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख विशाल मोदीले जानकारी दिए ।