शुक्रवार, चैत्र २० २०८२
नेपाल वाइड
खोटाङ, २० चैत्र । निजी क्षेत्रबाट संचालित सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारी निर्णयको विरोध गर्दै पत्रकार महासंघ शाखा खोटाङले सरकारलाई एक रुपैयाँ सहयोग पठाएको छ । सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयविरुद्ध महासंघ शाखा खोटाङले सरकारलाई एक रुपैयाँ सहयोग पठाएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत १८ गते संघीय मन्त्रालय, आयोग र सचिवालयका साथै प्रदेश तथा स्थानीय तहहरूलाई सरकारी सूचना प्रकाशन तथा प्रसारण सरकारी सञ्चारमाध्यममा मात्रै गर्ने भनी गरेको निर्णय तथा परिपत्रको विरुद्धमा महासंघले शुक्रबार विरोध स्वरूप एक रुपैयाँ पठाएको हो ।
कोरोना महामारी तथा विभिन्न आन्दोलनका कारण आर्थिक संकट व्यहोरी रहेका निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोकिने गरी गरिएको सचिवस्तरीय निर्णयप्रति महासंघले गम्भीर आपत्ति जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत प्रतीकात्मक रूपमा एक रुपैयाँ पठाउँदै ज्ञापनपत्र बुझाइएको महासंघका अध्यक्ष हरिवोल आचार्यले बताए । सरकारको यस निर्णयले निजी सञ्चारमाध्यमहरू बन्द हुने तथा श्रमजीवी पत्रकारहरूको रोजगारी खोसिने अवस्था सिर्जना हुनेतर्फ महासंघ गम्भीर भएको छ ।
प्रेसमाथि अप्रत्यक्ष सेन्सरसिपको अवस्था सिर्जना गरी आवाजविहीनहरूको आवाज बन्दै आएको स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष असर पार्ने महासंघको ठहर समेत रहेको महासंघ अध्यक्ष आचार्यद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।