शनिवार, फाल्गुण २३ २०८२
नेपाल वाइड
खोटाङ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत खोटाङमा भएको निर्वाचनको मत गणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईको मत अग्रता कायमै रहेको छ ।
दश स्थानीय तह रहेको जिल्लामा केपिलासगढी, ऐसेलुखर्क, रावाबेँसी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाँउपालिकाको १९,५०३ मत गणना सम्पन्न हुँदा आरेनको चार हजार ७७४ मत प्राप्त गर्दै अग्रतालाई कायम राखेका हुन् ।
यस्तै, नेपाली काँग्रेसका वीरकाजी राईको ४ हजार ३७२, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईको तीन हजार ९ सय ९२ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि रोकाको २ हजार ८०८ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीको एक हजार ६८९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङको ७१, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङको ३२, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालको चार, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईको ३०५ , मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीका प्रयाग राईको नौ, मितेरी पार्टी नेपालका किशोरमान चाम्लिङको सात, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथोकीको ४४ र जनता समाजवादी पार्टी (जसपा)का राकेश राईको ९८ मत पुगेको छ ।
यस्तै, स्वतन्त्र उम्मेदवारहरु डा. राजकुमार राईले १६ तथा तीलकचन्द्र राईको १५ मत पुगेको जनाइएको छ । गणना सम्पन्न गरिएका मतमध्ये एक हजार २७७ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिए ।
एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा ६३ हजार ३५ मत मात्र खसेको जनाइएको छ । मत गणनालाई छिटो सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुईवटा मतगणनास्थल निर्माण गरेर गणना सुरु गरिएको छ ।