बिहिवार, माघ २९ २०८२
नेपाल वाइड
खोटाङ, २९ माघ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले जितेको छ । गाउँपालिकाभित्र सञ्चालित नौ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा पृथ्वी मावि बाक्सिलाले ३८ स्वर्ण, ३१ रजत र २५ कास्य पदकसहित प्रथम उपाधि जितेको हो ।
बाक्सिला बजारस्थित पृथ्वी माविको प्राङ्गणमा आयोजित प्रतियोगितामा चार स्वर्ण, छ रजत र पाँच कास्य पदकसहित शुक्रजित मावि खार्ताम्छा दोस्रो तथा तीन स्वर्ण, चार रजत र पाँच कास्य पदकसहित रेणुका मावि दिप्सुङ तेस्रो भएका छन् ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद ५५ हजार, दोस्रो हुने विद्यालयले नगद ५० हजारको साथमा मेडल, प्रमाणपत्र तथा तेस्रो हुने विद्यालयले नगद ४५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा सहभागी अन्य विद्यालयलाई यातायात तथा व्यवस्थापन खर्च उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । प्रतियोगिताका विजेता विद्यालय तथा विद्यार्थीलाई गाउँपालिकाका कार्यवाहक प्रमुख गुरुराज राई र प्रमुख प्रशासकीय अधिकृत सौधन राईले पुरस्कार वितरण गरेका छन् ।
भलिबल, सितोरियो कराँते, तेक्वान्दो, दौड, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रो लगायत विभिन्न विधामा ४७ स्वर्ण, ४७ रजत र ४७ कास्य पदकका लागि प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताका लागि गाउँपालिकाले रु आठ लाख बजेट उपलब्ध गराएको थियो ।
पृथ्वी मावि बाक्सिलाको व्यवस्थापनमा चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका प्रमुख समिर राई, उपप्रमुख गुरुराज राई र प्रमुख प्रशासकीय अधिकृत सौधनले संयुक्तरूपमा गरेका थिए ।
गत वर्ष सञ्चालित चौथो संस्करणको प्रतियोगितामा २३ स्वर्ण, दश रजत र सात कास्य पदकसहित पृथ्वी मावि बाक्सिलाले उपाधि जितेको थियो । लगातार दोस्रो पटक उपाधि जितेको पृथ्वी मावि बाक्सिलाले छैटौं संस्करणको प्रतियोगिता पनि जितेको खण्डमा राष्ट्रपति रनिङ शिल्ड पक्का गर्दै आफ्नो बनाउनेछ ।