Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मेघालय कोइलाखानी विस्फोटः खोटाङका तीन युवाको मृत्यु, एक बेपत्ता

    मेघालय कोइलाखानी विस्फोटः खोटाङका तीन युवाको मृत्यु, एक बेपत्ता


    • सोमवार, माघ २६ २०८२

    • नेपाल वाइड


    मेघालय कोइलाखानी विस्फोटः खोटाङका तीन युवाको मृत्यु, एक बेपत्ता

    खोटाङ, २६ माघ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा भएको विस्फोटमा खोटाङका तीन युवकको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । दुई जना गम्भीर घाइते भएका छन् । मेघालयको पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा माघ २२ गते भएको विस्फोटमा बरापोखरी गाउँपालिका–१ भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो । पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ रहेका छन् ।

    नरबहादुरको उपचारका क्रममा माघ २३ गते मृत्यु भएको थियो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५० वर्षीय रत्न राई बेपत्ता भएका छन् । विस्फोटपछि कोइलाखानीभित्रै जलेर उनको मृत्यु भएको अनुमान गरिएको सँगै काम गर्ने साथीहरूले बताएका छन् ।

    रत्न गत असोज ९ गते रोजगारीका लागि मेघालय गएका थिए । विस्फोटमा बरापोखरी गाउँपालिका–१ का ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते भएका छन् । उनीहरूको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    स्थानीय सञ्चार माध्यमका अनुसार विस्फोटमा हालसम्म २७ जनाको मृत्यु भएको छ । दर्जनौं कामदार कोइलाखानीभित्र फसेको अनुमान गरिएको छ । भारतीय सरकारले उद्धार कार्य जारी रहेको जनाएको छ । मृतकको शव नेपाल ल्याउन र घाइतेको उपचारका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग सङ्कलन अभियान सुरु गरिएको स्थानीय प्रकाश बञ्जराले जानकारी दिए । देश–विदेशका नेपालीहरू सहयोगमा जुटेका छन् ।

     

    सम्बन्धित समाचार