सोमवार, पौष २८ २०८२
नेपाल वाइड
खोटाङ, २८ पौष । सगरमाथा लोकमार्ग अन्तर्गत दिक्तेल गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर नौ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर पाँच आँपटार जोड्ने सुनकोशीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लासँग सिधा यातायात सञ्चालन गर्नेगरी जडान गरिएको अस्थायी बेलिब्रिज आइतबारबाट सञ्चालनमा आएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ । फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान भएपछि विगत छ महिनादेखि अवरुद्ध पूर्वी तराईका जिल्ला जोड्ने दिक्तेल गाईघाट सडकमा सिधा यातायात सुरु भएको छ । फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै घुर्मी कटारी हुँदै घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेको खोटाङ यातायात प्राली का महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।
अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि करिब तीन घण्टाको दूरी छोटो भएको र यसले यातायात व्यवसायी र यात्रु दुवैलाई फाइदा हुने उहाँले बताउनुभयो। यो दीर्घकालीन समाधान नभएकोले सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको उनले बताए । फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्ने ठेक्का एमए एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्राली कटारी उदयपुरले लिएको थियो ।
मूल्य अभिवृद्धि कर सहित ९६ लाख ७७ हजार ९३७ रुपैयाँमा ठेक्का सम्झौता गरेर अस्थायी बेलिब्रिज जडान गरिएको योजना कार्यालय उदयपुरका सूचना अधिकारी इन्जिनियर सुभाषकुमार तिवारीले जानकारी दिए । गत वर्ष असोज १२ गते राति आएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको भीषण बाढीले फोक्सिङटारको एक सय २० मिटर लामो मोटरेबल पक्की पुल बगाएको थियो ।
करिब १३ वर्ष लगाएर निर्माण भएको आर्क डिजाइनको पुल बाढीले बगाएपछि गत वर्षको पुसमा जडान गरिएको बेलिब्रिज वर्षायाम सुरु भएसँगै निकालिएको थियो। बेलिब्रिज निकालिएसँगै यातायात सेवा विच्छेद भएपछि पूर्वी तराई आवतजावत गर्ने यात्रुहरु झोलुङ्गे पुलमार्फत गन्तव्यमा पुग्ने गरेका थिए ।
फोक्सिङटारमा पुनः मोटरेबल पक्की पुल निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको बताइए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन। फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनः निर्माण नभएसम्म खोटाङवासीको समस्या यथावत रहिरहने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए ।
यता, सुनकोशीकै बङ्शिलाघाटमा समेत अस्थायी बेलिब्रिज जडानको काम धमाधम भइरहेको छ । खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर पाँच पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर एक चौदण्डीगढीको सीमानामा पर्ने सुनकोशीस्थित बङ्शिलाघाटमा कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ५७ लाख रुपैयाँ लगानीमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको हो ।
गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको बङ्शिलाघाटको अस्थायी बेलिब्रिज पुस पहिलो हप्ताभित्र सम्पन्न गरेर सञ्चालनमा ल्याउने सम्झौतामा उल्लेख छ । आगामी विसं २०८३ जेठ पहिलो सातासम्म सञ्चालन गर्नेगरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिजको लम्बाई ५१ दशमलव ८१ मिटर लामो छ।
बङ्शिलाघाटको अस्थायी बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक करोड ८७ लाख रुपैयाँमा खरिद गरेर पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए । लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा ढिलै भए पनि बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडान हुने भएपछि हर्षित भएका छन् ।
बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गरेका थिए। सङ्घीय सरकारले बजेट उपलब्ध नगराएपछि प्रदेश सरकारको लगानीमा जडानको काम सुरु गरिएको बराहपोखरी गाउँपालिका प्रमुख सालिकराम बञ्जराले जानकारी दिए ।