मंगलवार, पौष २२ २०८२
नेपाल वाइड
खोटाङ, २२ पौष । नेपाल पत्रकार महासंघ खोटाङले पत्रकार तथा पत्रकारिता पेसामाथि सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्नेविरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरेको छ । मङ्गलबार दिक्तेलमा बसेको बैठकले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जिल्लामा क्रियाशील पत्रकार तथा पत्रकारिता पेसाको अपमान गर्दै आक्रमण गरेकाले उनीहरुलाई कानूनी दायरामा ल्याउने निर्णय गरेको हो ।
पछिल्लो समय जिल्लामा क्रियाशील पत्रकार तथा पत्रकारिता पेसालाई कमजोर बनाउने उद्देश्यसहित फेसबुकमार्फत आक्रमण गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित गर्न कानूनी कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको पत्रकार महासंघका अध्यक्ष हरिबोल आचार्यले बताए । संविधानले वाक स्वतन्त्रता दिएको भए पनि मनपरी बोल्ने छुट नभएको अध्यक्ष सुझाव दिएका छन् ।
पत्रकारिता मर्यादित पेसा भएको र सत्य तथ्य र प्रमाणको आधारमा समाचार सम्प्रेषण गर्दा पत्रकारहरुमाथि आक्रमण हुनु निन्दनीय भएको अध्यक्ष आचार्यको भनाई छ । पत्रकार तथा पत्रकारिता पेसामाथि आक्रमण गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको विवरण संकलन गरेर चाँडै कानूनी कारबाहीको दायरामा ल्याउन जिम्मेवारीसमेत तोकिएको जनाइएको छ ।
पत्रकार महासंघले जिल्लामा क्रियाशील पत्रकारहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताको पछाडि नलागी आफ्नो पेसाप्रति निर्धक्क भएर काम गर्न आग्रह गरेको छ । आक्रमण गर्नेहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दा दर्ता गर्ने तयारी गरिएको सचिव राजकुमार भट्टराई सरगमले जानकारी दिए ।
यो ऐन अन्तर्गत दोषी ठहरिएमा तीन वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउन भूमिका निर्वाह गर्ने समेत निर्णय गरेको छ । बैठकमा पूर्वअध्यक्षहरु डम्बरसिंह राई र दमन राई, निवर्तमान अध्यक्ष दिलीप खत्री, पेसागत संघ सङ्गठनका प्रमुख र पत्रकारहरुको सहभागिता थियो ।
यसैबीच पत्रकार महासंघको टोलीले प्रमुख जिल्ला अधिकारी रेखा कँडेलसँग भेटवार्ता गरेको छ । भेटमा जिल्लाका समसामयिक विषयमा छलफल भएको छ । पत्रकारहरुले जिल्लामा सुशासन कायम गराउन उठाएका विषयमा गम्भीर हुन प्रजिअ कँडेललाई ध्यानाकर्षण गराए । प्रजिअ कँडेलले पत्रकारहरुको सुरक्षा तथा जिल्लामा सुशासन कायम गर्न आफू प्रतिबद्ध रहेको बताईन् ।