Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा अति सङ्कटापन्न कालो सालकको बसोबास पुष्टि

    खोटाङमा अति सङ्कटापन्न कालो सालकको बसोबास पुष्टि


    • सोमवार, पौष २१ २०८२

    • नेपाल वाइड


    खोटाङमा अति सङ्कटापन्न कालो सालकको बसोबास पुष्टि

    खोटाङ, २१ पौष । खोटाङमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको अति संङ्कटापन्न सूचीमा रहेको कालो सालकको बसोबास रहेको पुष्टि भएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्रले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय तहका सामुदायिक वनमा करिब छ महिना लगाएर क्यामेरा ट्र्याप गर्दा कालो सालकको बसोबास रहेको प्रमाणित गरेको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा र खार्मी तथा रावाबेँसी गाउँपालिकाको हौँचुरका विभिन्न सामुदायिक वनमा क्यामेरा ट्र्याप प्रविधिमार्फत सर्वेक्षण गर्दा कालो सालकको बसोबास रहेको पुष्टि भएको जनाइएको छ ।

    प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका अनुसार तीन वडाको सामुदायिक वनमा १६ प्रजातिका स्तनधारी वन्यजन्तुको बसोबास रहेको अभिलेखीकरण गरिएको छ । एक प्रजातिका अति सङ्कटापन्न, तीन प्रजातिका संवेदनशील, दुई प्रजातिकासंङ्कट नजिकका र दश प्रजातिका कम चासोका स्तनधारी जनावरको भिडियो तथा तस्वीर कैद गरिएको छ ।

    कालो सालक फेला पर्नुलाई यस क्षेत्रको ठूलो उपलब्धिका रूपमा लिइएको प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका कार्यकारी निर्देशक जीवन राईले बताउनुभयो। अध्ययनका क्रममा अति सङ्कटापन्न अवस्थाका कालो सालकसहित संवेदनशील अवस्थाका चितुवा, थार र ध्वाँसे चितुवा, सङ्कट नजिक पुगेको आसामी बाँदर र घोरल तथा कम चासोका रतुवा मृग, गँगटे न्याउरीमुसा, ढेंडु, सानो सुँगुरे भालु, ठूलो निरबिरालो, चरी बाघ, दुम्सी, गाजले निरबिरालो, पहाडी मलसाँप्रो र मलसाँप्रोको बसोबास रहेको प्रमाणित भएको जनाइएको छ ।

    स्थानीय वन्यजन्तुको अवस्था पहिचान र अभिलेख राख्दै यस क्षेत्रको जैविक विविधताको महत्वलाई उजागर गर्नका लागि क्यामेरा ट्र्यापिङ गरिएको कार्यकारी निर्देशक राईले जानकारी दिए । सामुदायिक वनमा आबद्ध समुदायलाई आफ्नो क्षेत्रमा रहेका जैविक विविधता, वन्यजन्तुको अनुगमन र संरक्षणका लागि आफैले क्यामेरा ट्र्यापिङ गर्ने क्षमता अभिवृद्धि गराउन कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपा, ११ खार्मी र रावाबेँसी गाउँपालिका ६ हौँचुरका विभिन्न सामुदायिक वनहरूमा १३ वटा क्यामेरा ट्र्यापिङ गरिएको थियो । एनसीएससीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको उपस्थितिमा सालक संरक्षण तथा क्यामेरा ट्र्याप नतिजा गत शनिबार जालपामा औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गरेको हो ।

    कार्यक्रममा सहभागी वक्ताहरुले जिल्लामा चोरीशिकारीको बिगबिगी बढेकाले लोपोन्मुख जीवजन्तुको अस्तित्व समाप्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जिल्लामा हुने चोरीशिकार नियन्त्रण गर्नका लागि सम्बन्धित निकायले कडाइका साथ कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।

    सम्बन्धित समाचार