Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    स्वास्थ्यचौकी धितुङले आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रवाह सुरु

    स्वास्थ्यचौकी धितुङले आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रवाह सुरु


    • मंगलवार, पौष १५ २०८२

    • नेपाल वाइड


    स्वास्थ्यचौकी धितुङले आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रवाह सुरु
    हलेसी धितुङमा निर्माण गरिएको स्वास्थ्यचौकी भवन ।

    खोटाङ, १५ पौष । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर आठ धितुङमा सञ्चालित स्वास्थ्यचौकीले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । तत्कालीन गाउँ विकास समितिको पुरानो कार्यालय भवनमा सञ्चालित स्वास्थ्यचौकीले सोमबारबाट औपचारिक रुपमा आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको हो ।

    उपभोक्ता समितिमार्फत निर्माण गरिएको स्वास्थ्यचौकीको दुईतले पक्की भवनको भूइँतलामा पाँच तथा माथिल्लो तलामा चार कोठा रहेको जनाइएको छ । आर्थिक वर्ष २०८१ मा ७२ लाख रुपैयाँ बजेटमा ठेक्कामार्फत निर्माण सुरु गरिएको स्वास्थ्यचौकी भवनको काम सम्पन्न नभएपछि आर्थिक वर्ष २०८२ मा नगरपालिकाले ३५ लाख ३४३ रुपैयाँ बजेट विनियोजन गरेर उपभोक्ता समितिलाई निर्माणको जिम्मा दिएको थियो ।

    नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसँगको साझेदारीमा एक करोड सात लाख ३४३ रुपैयाँ लागतमा निर्माण गरिएको स्वास्थ्यचौकी भवन सोमबार नगरप्रमुख विमला राई र उप–प्रमुख रमेशकुमार राउतले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

    भवन उद्घाटन कार्यक्रममा स्वास्थ्यचौकीलाई निःशुल्क चार रोपनी जग्गा उपलब्ध गराउनुहुने शिवराज राई, एक रोपनी उपलब्ध गराउनुहुने स्व. रणशेर राईका जेठा छोरा डिल्ली राई र लामो समय महिला स्वास्थ्य स्वयम्सेविकाको भूमिका निर्वाह गर्नुभएकी इमानसरी राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

    विविध कार्यक्रमसहित आयोजना गरिएको स्वास्थ्यचौकी भवन उद्घाटन कार्यक्रममा धितुङका वडाध्यक्ष टेकराज राई, छिमेकी वडाका वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो । साँघुरो तथा जीर्ण अवस्थाको गाविस भवनमा सञ्चालित स्वास्थ्यचौकी आफ्नै सुविधा सम्पन्न पक्की भवनमा सारिएसँगै सेवा प्रवाहमा समेत सहज भएको स्वास्थ्यचौकी प्रमुख रोहित राईले जानकारी दिए ।

    एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा वडा नम्बर १० अर्खौले बाहेक सबै स्वास्थ्यचौकीमा पक्की भवन निर्माण गरेर सञ्चालनमा ल्याई सकिएको नगर प्रवक्ता एवम् कमल गिरीले जानकारी दिए । अर्खौले स्वास्थ्यचौकीका लागि समेत चाँडै नयाँ पक्की भवन निर्माण गर्न पहल थालिएको नगरपालिकाले जनाएको छ ।

    हलेसी तुवाचुङ नगरपालिकामा तीन शैयाको नगर अस्पताल समेत सञ्चालनमा रहेको छ । विशेषज्ञ चिकित्सक सहितको सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध रहेको नगर अस्पतालमा स्वास्थ्य बीमाको कार्यक्रम समेत लागू गरिएको प्रवक्ता गिरीले जानकारी दिए । पुरानो स्वास्थ्यचौकीको भवनमा सञ्चालित नगर अस्पतालका लागि संघीय सरकारको लगानीमा १५ शैयाको सुविधा सम्पन्न अस्पताल भवनसमेत निर्माणको काम भइरहेको छ ।

    सम्बन्धित समाचार