बिहिवार, आश्विन २ २०८२
नेपाल वाइड
खोटाङ, २ असोज । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिका सिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । गत भदौ ३० गते मृत फेला परेकी रेश्मिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही गाउँपालिकाका अन्दाजी १६–१७ वर्षीय एक किशोर पक्राउ परेका हुन् ।
स्थानीय अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिकालाई कार्यालय पञ्चमीबजारबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनमा लगेर बलात्कारपछि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।
पक्राउ परेका किशोरले घटनाबारे स्वीकार गरिसकेको र उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत खोटाङबाट चार दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक मिश्रले बताए । पक्राउ परेका किशोरले आफू नाबालक रहेको बताएको र उमेर प्रमाणित गर्न जन्मदर्ताको प्रमाणपत्र मगाईएको प्रहरी जनाएको छ । बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका किशोरको जन्मदर्ता समेत नरहेको र उनले अहिलेसम्म कुनै पनि विद्यालयमा अध्ययन नगरेको खुलेको सहकारी संस्थाका अध्यक्ष सागर तामाङले जानकारी दिए ।
एक छोरीकी आमा रेश्मिका भदौ ३० गते बेलुकी अबेरसम्म कार्यालयबाट घर नफर्किएपछि खोजी गर्ने क्रममा सोही राति करिब नौँ बजे बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।
जागिरका लागि काममा गएकी एक छोरीकी आमा रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीयले दोषीमाथी कडा कानूनी कारबाही गर्न माग गरेका छन् । मृतक रेश्मिकाको शव तीन दिनपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर परीक्षणपछि आफन्तले दाहसंस्कार गरेका छन् ।