बिहिवार, आश्विन २ २०८२
नेपाल वाइड
खोटाङ, २ असोज । राष्ट्रिय भूमि आयोग खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन जग्गाको निस्सा वितरण सुरु गरेको छ । पन्ध्र वडा रहेको यस नगरपालिकाका २९७ घर भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गासहित जग्गाको लालपुर्जा उपलब्ध गराउन बिहीबार जिल्ला समन्वय समिति खोटाङको सभाहलमा औपचारिक कार्यक्रमको आयोजना गरि जग्गाको निस्सा वितरण सुरु गरेको हो ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राई नगरप्रमुख तीर्थराज भट्टराई, राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष निर्मल राई, वडाध्यक्षहरुलगायतको उपस्थितिमा जग्गाको निस्सा वितरण सुरु गरिएको हो । भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएसँगै चाँडै जग्गाको लालपुर्जा उपलब्ध गराउने गरी दोस्रो चरणको प्रक्रिया सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।
नगरप्रमुख भट्टराईका अनुसार निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ति जग्गा पहिचान गरेर नगरपालिकालाई सिफारिस गर्नेछ र वडाको सिफारिसको आधारमा उनीहरुलाई लालपुर्जा उपलब्ध गराउन नगरपालिकाको तर्फबाट राष्ट्रिय भूमि आयोग खोटाङलाई सिफारिस गरिनेछ ।
लाभग्राहीलाई निस्सा वितरण गरिसकेपछि वडा कार्यालयले सात दिने दाबी विरोध सम्बन्धी सूचना जारी गर्नुपर्ने र वडाले जारी गरेको सार्वजनिक सूचनामा कसैको पनि दाबी विरोध नपरेको खण्डमा नगरपालिकाको तर्फबाट लालपुर्जा वितरणको लागि प्रक्रिया अगाडि बढाइने उनले स्पष्ट पारेका छन् । नगरपालिकाको समन्वयमा जग्गाको निस्सा प्राप्त गरेपछि लामो समयदेखि भूमिहीन अवस्थामा रहेका दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरु आफ्नो नामको जग्गाको लालपुर्जा पाउनेमा आशावादी बनेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २२३ घर अव्यवस्थित बसोवासी, ५८ घर सुकुम्वासी र १६ घर भूमिहीन दलित रहेको राष्ट्रिय भूमि आयोग खोटाङले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीगरी ७९२ घर लाभग्राही रहेको राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष निर्मल राईले जानकारी दिएका छन् ।
आयोगका अध्यक्ष राईले भूमिहीन घरपरिवारलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोवासीलाई व्यवस्थित गराउन तीव्रगतिमा काम गरिरहेको बताउँदै सम्बन्धित स्थानीय तहले जति छिटो काम गर्यो उति छिटो भूमिहीनले लालपुर्जा प्राप्त गर्ने बताएका छन् । उनले जग्गाको निस्सा वितरणको काम शुरु गरेसँगै भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासी उत्साहित बनेका र उनीहरुको उत्साहलाई सम्बोधन गर्नेगरी जग्गा उपलब्ध गराउनेगरी काम सुरु गरेको जानकारी दिए ।
आयोगले दिएको जानकारी अनुसार जिल्लाभर १५२ घर भूमिहीन सुकुम्बासी, ४९ घर भूमिहीन दलित र ५९१ घर अव्यवस्थित बसोवासी रहेका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा यसअघि सुरेश राई नेतृत्वको आयोगले निस्सा वितरण शुरु गरेको थियो भने खोटेहाङ, जन्तेढुङ्गा र बाराहापोखरी गाउँपालिकाका लाभग्राहीको नाममा जग्गा छ वा छैन भनेर जग्गा प्रमाणीकरणको काम सम्पन्न गरेको थियो ।
भूमिहीन दलित तथा सुकुम्बासीको हकमा नेपाल राज्यभित्र आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा जग्गा जमिन नभएको तथा आफ्नो आयआर्जनका श्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति वा परिवारलाई जग्गा उपलब्ध गराइने जनाइएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राई नगरप्रमुख तीर्थराज भट्टराई, राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष निर्मल राई, वडाध्यक्षहरुलगायतको उपस्थितिमा जग्गाको निस्सा वितरण सुरु गरिएको हो ।