Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images

    खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यवसायिक उत्पादन सुरु

    खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यवसायिक उत्पादन सुरु


    • शुक्रवार, श्रावण १६ २०८२

    • नेपाल वाइड


    खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यवसायिक उत्पादन सुरु
    शुभम् फाउण्डेशन दिक्तेल खोटाङले व्यवसायिक रूपमा उत्पादन सुरु गरेको कोदोको बिस्कुट ।

    खोटाङ, १६ साउन । प्रथम राष्ट्रिय कोदो दिवस २०८२ को अवसरमा शुभम् फाउण्डेशन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यवसायिक रूपमा उत्पादन सुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा खरिद गरिएको उपकरण जडान गरेर शुभम् फाउण्डेशनले ‘दिक्तेल कोदो बिस्कुट’ नामको उत्पादन गरेर बजारमा ल्याएको हो ।

    कोदोको पिठो, घ्यू, दूध र चिनी प्रयोग गरेर उत्पादन गरिएको १०० ग्रामको प्याकेटमा राखिएको बिस्कुटको मूल्य ५० रुपैंया राखिएको छ । नगरपालिकाको रैथाने बाली प्रवर्धन कार्यक्रम अन्तर्गत शुभम् फाउण्डेशनले उत्पादन गरेको बिस्कुट जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, तीनवटै सुरक्षा निकायका प्रमुख र वडा नम्बर २ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईले संयुक्तरूपमा सार्वजनिकीकरण गर्नुभएको छ ।

    शुभम् फाउण्डेशनमा शुक्रबार आयोजित प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा बिस्कुटसँगै कोदोबाट बनाइएका खाद्य परिकारहरूको प्रदर्शनी गरिएको थियो । कृषि ज्ञान केन्द्र खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शुभम् फाउण्डेशनले संयुक्त रूपमा आयोजना गरेको कोदो दिवसमा बिस्कुटसँगै केक, मोमो, कुकिज, सेलरोटी, सुक्खा रोटी, खीर र तोङ्बा प्रदर्शनीमा राखिएको थियो ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्धारण गरेको मापदण्ड पूरा गरेर कोदोको बिस्कुट व्यवसायिक रूपमा उत्पादन सुरु गरिएको शुभम् फाउण्डेशनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिए । उहाँले कोदोको परिकारलाई बजारीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यवसायिक रूपमा दिक्तेल कोदो बिस्कुट उत्पादन सुरु गरिएको जानकारी दिए ।

    कार्यकारी निर्देशक राईका अनुसार शुक्रबारदेखि बजारमा पठाउन थालिएको विस्कुटलगायत कोदोको अन्य परिकारहरूलाई उपभोक्ताको मागअनुसार लेबलिङ गरि बाह्य बजारमा समेत निर्यात गर्ने योजना रहेको वहाँको भनाई छ । शुक्रबार मनाईएको राष्ट्रिय कोदो दिवस कार्यक्रममा सहभागी अतिथि तथा कृषकहरूलाई शुभम् फाउण्डेशनले उत्पादन गरेको कोदोको परिकार खाजाको रूपमा निःशुल्क वितरण गरिएको थियो ।

    जिल्लामा उत्पादित कोदो शुभम् फाउण्डेशनले सञ्चालन गरेको उद्योगमा खपत हुने भएपछि कृषकहरूलले समेत कोदोको राम्रो मुल्य पाउने अपेक्षा गरेका छन् । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईले शुभम् फाउण्डेशनले व्यवसायिक रूपमा उत्पादन गरेको कोदोको बिस्कुट स्वादिष्ट, गुणस्तरीय र स्वास्थ्यकर भएकाले प्रवर्धन गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

    स्थानीय उत्पादनलाई प्रवर्धन गर्न सकेमात्र समृद्ध बन्न सकिने र परम्परागत रूपमा उपभोग गर्दै आइएको कोदोलाई आधुनिकीकरण गर्न आवश्यक रहेको उहाँको भनाइ छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यवाहक नगरप्रमुख विशन राईले रैथाने बाली संरक्षण तथा प्रवर्धन गर्दै कृषकलाई उत्पादनसँग जोड्न नगरपालिकाले १७ औं नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरेर लागू गरेको जानकारी दिए ।

    नगरवासीको आम्दानी वृद्धि गर्न उप–प्रमुखसँग कृषक कार्यक्रम लागू गरि अधिक कृषकहरूलार्ई व्यवसायिक बन्न प्रेरित गरिरहेको कार्यवाहक नगरप्रमुख राईको भनाई छ । शुभम् फाउण्डेशनले उत्पादन गरेको कोदोको परिकार नगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको रूपमा उपयोग गर्ने विषयमा समेत तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

    कोदोबाट उत्पादित परिकार उपभोग गर्दा मधुमेह, मुटु रोग, एनिमिया नियन्त्रण तथा हड्डी बलियो बनाउने र रगतको मात्रा बढाउने औषधीय गुण हुने स्वास्थ्यकर्मीहरूले बताएका छन् । यसैबीच, प्रथम राष्ट्रिय कोदो दिवसका अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७६ जना कृषकहरु सम्मान गरिएको छ ।

    नगरपालिकाको कृषि विकास शाखाको गत आर्थिक वर्ष मौरी, प्याज र तोरी उत्पादनमा आधारित कार्यक्रमको मापदण्डको आधारमा कृषकहरु सम्मान गरिएको हो । मौरी मह उत्पादनमा १५ जना, प्याज खेती उत्पादनमा ४४ जना र तोरी खेती उत्पादनमा १७ जना कृषकलाई सम्मान गरिएको हो ।

    मौरी मह उत्पादन गर्ने कृषकले प्रतिकेजी १५०, प्याज उत्पादन गर्ने कृषकले प्रतिकेजी ५ र तोरी उत्पादन गर्ने कृषकले प्रतिकेजी १५ रुपैयाँका दरले अनुदान रकम पाएको नगरपालिकाका कृषि प्रसार अधिकृत तेजप्रकाश जैसीले जानकारी दिए ।

    अधिकृत जैसीका अनुसार तीनै खेतीमध्ये १५ वडा रहेको नगरभित्र दिक्तेल सोल्मा लालीका दिनेश तामाङले सबैभन्दा बढी ३२५ केजी मह उत्पादन गरेका थिए । यस्तै, खाल्लेका कोपिला बस्नेतले सबैभन्दा बढी ३ हजार ३५० केजी प्याज र नेर्पाका दुर्गाप्रसाद पराजुलीले सबैभन्दा बढी १ हजार ५० केजी तोरी उत्पादन गरेका थिए ।

    नगरपालिकाले मौरी मह उत्पादन कार्यक्रम अन्तर्गत दुई लाख ३१ हजार नौ सय, तोरी उत्पादन कार्यक्रम अन्र्तगत ९८ हजार ५२० र प्याज उत्पादन कार्यक्रम अन्र्तगत ३ लाख ५९ हजार ७७५ रुपैयाँ अनुदान रकम बाँडेका थिए । यसैबीच, कोदो दिवसमै अवसरमा नगरपालिकाले कोदोको उपयोगिताका विषयमा वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरेको छ ।

    प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेलकी विपासा खनाल पहिलो, माउण्ट एभरेस्ट बोर्डिङ स्कूल दिक्तेलका प्रताप खत्री दोस्रो, शीतला माध्यमिक विद्यालय खाल्लेकी प्रनिशा राई तेस्रो तथा जालपा माध्यमिक विद्यालय जालपाका प्रज्वल खड्का सान्त्वना भएका छन् । वक्तृत्वकला प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने प्रतियोगी विद्यार्थीलाई क्रमशः नगद २५००, २२५०, २०००र १७५० रुपैंया प्रदान गरिएको छ ।

    सम्बन्धित समाचार