बिहिवार, श्रावण १ २०८२
नेपाल वाइड
खोटाङ, १ साउन । खोटाङ, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल खोटाङले दुई महिने श्रमदान अभियान शुरु गरेको छ । युवा पुस्तालाई श्रमसँग जोडेर उत्पादनलाई जोड दिँदै स्वरोजगार बनाउने उद्देश्यसहित अभियान शुरुवात गरिएको हो ।
वाईसिएल नेपाल केन्द्रीय कार्यसमितिको निर्णयअनुसार ७७ वटै जिल्लामा बिहीबारदेखि औपचारिक रुपमा श्रमदान अभियान शुरु गरिएको छ । श्रमदान अभियानको पहिलो दिन दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा वृक्षरोपण, फूलका बिरुवा वितरण तथा सरसफाइ गरिएको वाईसिएल खोटाङका अध्यक्ष भूपेन्द्र किरातीले जानकारी दिए ।
क्याम्पस परिसरमा ‘श्रम तथा उत्पादनमा वाईसिएल’ नारासहित शुरुवात गरिएको दुई महिने श्रमदान अभियानको औपचारिक उद्घाटन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले गर्नुभएको छ । अभियानमा मातृ पार्टी माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, वाईसिएल नेपालका केन्द्र, प्रदेश तथा जिल्ला तहका नेताहरु, विद्यार्थी सङ्गठन अखिल (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
दुई महिनासम्म सञ्चालन हुने अभियानका क्रममा हलेसीको गणेशटारमा वृक्षरोपण, बुइपामा सामुहिक फापर तथा बेसार खेतीलगायतका कार्यक्रम तय गरिएको अध्यक्ष किरातीले जानकारी दिए । वाईसिएल नेपालको गत असार १७ र १८ गते बसेको केन्द्रीय पदाधिकारी बैठकले साउनरभदौमा दुई महिने श्रम अभियान चलाउने निर्णय गरेको थियो । उत्पादनमा कृषि, उद्योग, व्यापार (डिजिटल व्यापार) का क्षेत्रमा ठोस योजना बनाएर अभियान शुरु गरिएको वाईसिएल नेपाल खोटाङले जनाएको छ ।