मंगलवार, आषाढ ३१ २०८२
नेपाल वाइड
खोटाङ, ३१ असार । खोटाङको साकेला गाउँपालिकाले आफ्नो क्षेत्रलाई हरित पालिका तथा वातावरणमैत्री पालिका निर्माण गर्ने उद्देश्यले वृक्षरोपण अभियान सुरु गरेको छ । जिल्लाकै सबैभन्दा सानो गाउँपालिका मानिने यस पालिकाको पाँच वडा रहेको स्थानीय तहले सडक किनारा, विभिन्न पार्क, सामुदायिक विद्यालय, वडा कार्यालय तथा स्वास्थ्यसंस्थाहरूमा बिरुवा रोप्ने कार्य थालेको हो । गाउँपालिका प्रमुख रविप्रकाश राईको नेतृत्वमा वृक्षरोपण अभियान शुरु गरिएको हो ।
गाउँपालिकाभित्र पर्ने सबै वडाका स्थानीयवासी, कर्मचारी तथा जनप्रतिनिधिहरूको टोलीले विभिन्न प्रजातिका बिरुवा रोप्न थालेका छन् । अभियानको शुरुवात गर्दैे वडा नं. २ रतन्छास्थित साकेला पार्कमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् ।
वातावरणीय रूपमा भूगोल र माटो सुहाउँदो प्रकारका बिरुवा रोप्न सुरु गरिएको गाउँपालिका प्रवक्ता एवम् वडा नं. ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिए । रोपिएका बिरुवाहरूमा ज्याकारअण्डा, धुपी, कल्की, अशोका, क्रिष्मश ट्री, लालीगुराँस लगायतका प्रजातिहरू रहेका छन् । यसै वर्ष तीन हजार बिरुवा रोप्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
पालिकालाई वातावरणमैत्री बनाउन सबै सामुदायिक विद्यालय, स्वास्थ्यसंस्था, वडा कार्यालयहरू र सार्वजनिक पाटीपौवालगायतका स्थानमा बोट बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको गाउँपालिका उपप्रमुख बिर्सिका राईले जानकारी दिईन् । गाउँपालिकाले बिगतका वर्षहरूमा पालिकाभरी करिब दश हजार विभिन्न प्रजातिका बिरुवाहरू रोपेर संरक्षण गर्दै आएको छ ।
गाउँपालिकाले हरेक हप्ताको शुक्रबार सरसफाइ अभियानसमेत सञ्चालन गर्दै आएको छ । वातावरणीय सुधारका साथसाथै पालिकाभित्र पर्ने चोक तथा पार्कहरूमा ख्यातिप्राप्त चित्रकारहरू झिकाएर विभिन्न जातजातिको संस्कार र संस्कृतिसँग सम्बन्धित चित्रहरू कोरिएका छन् । यसले पालिकाको सांस्कृतिक पहिचान र कलात्मक सुन्दरतामा वृद्धि भएको छ ।





