Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कूल र रातो बङ्गला फाउन्डेशनसँग तीन वर्षीय सहकार्यका लागि सम्झौता

    हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कूल र रातो बङ्गला फाउन्डेशनसँग तीन वर्षीय सहकार्यका लागि सम्झौता


    • शनिवार, आषाढ १४ २०८२

    • नेपाल वाइड


    हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कूल र रातो बङ्गला फाउन्डेशनसँग तीन वर्षीय सहकार्यका लागि सम्झौता
    रातो बङ्गला स्कूल र रातो बङ्गला फाउन्डेशनसँग गरिएको संझौतापत्रमा हस्ताक्षर गर्नुहुदै नगरप्रमुख विमला राई, रातो बङ्गला स्कूलका निर्देशक शान्ता दीक्षित र फाउन्डेशनका टिम लिडर एलिना रञ्जित । तस्बिरः विमला राईको फेसबुक पेज ।

    खोटाङ, १४ असार । खोटाङकको हलेसी तुवाचुङ नगरपालिकाले आफ्ना सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कूल र रातो बङ्गला फाउन्डेशन पाटनढोका ललितपुरसँग सहकार्य गर्ने समझदारी गरेको छ । नगरपालिकाभित्र सञ्चालित २२ वटा आधारभूत तहका सामुदायिक विद्यालयहरूको शैक्षिक स्तरसुधार गर्ने उद्देश्यले तीन वर्षका लागि त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले जानकारी दिईन् ।

    नगर प्रमुख राईका अनुसार यस समझदारी अन्तर्गत रातो बङ्गला स्कूल र फाउन्डेशनले तीन वर्षसम्म एकजना अधिकृतस्तरको कर्मचारी उपलब्ध गराउनेछ । साथै विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री र शिक्षकका लागि विभिन्न चरणका तालिमहरू प्रदान गर्नेछ । लागत साझेदारीमा नगरपालिकाले ४५.२२ प्रतिशत र रातो बङ्गलाले ५४.७८ प्रतिशत योगदान गर्नेछ । तीन वर्षको अवधिमा कुल १ करोड २९ लाख ८२ हजार ८८० को शैक्षिक कार्यक्रम सञ्चालन हुनेछ ।

    पहिलो वर्ष ७३ लाख ५४ हजार ९८०, दोस्रो वर्ष २६ लाख ९६ हजार ५२० र तेस्रो वर्ष २९ लाख ३१ हजार ३८० बराबरको कार्यक्रम सञ्चालन हुने जनाइएको छ । शैक्षिक गुणस्तर सुधारका लागि गरिएकोे समझदारीपत्रमा नगरप्रमुख विमला राई, रातो बङ्गला स्कूलका निर्देशक शान्ता दीक्षित र फाउन्डेशनका टिम लिडर एलिना रञ्जितले हस्ताक्षर गरेका छन् । त्रिपक्षीय समझदारीका साक्षीहरूमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त गिरी, रातो बङ्गला कार्यक्रम संयोजक अर्चना जोशी, रातो बङ्गला फाउन्डेशनका लेखा प्रमुख हरिप्रसाद पुडासैनी र हलेसी तुवाचुङ नगरपालिका–५ का वडाध्यक्ष रुपेन्द्र कुमार राई रहेका छन् ।

    SS.jpg

    नगरप्रमुख राईले यस सहकार्यले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै भनिन्, “हामी शैक्षिक गुणस्तर सुधारमा निरन्तर लागिपरेका छौँ । पछिल्लो समय केही अनुभव गर्न सकिनेगरी सुधार पनि हुन थालेका छन् । तीन वर्षका लागि रातो बङ्गला फाउन्डेशनसँग सहकार्य गर्ने अवसर पाएका छौँ । यसले शैक्षिक गुणस्तर सुधारमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।” सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान सञ्चालन गर्दै आएको यस नगरपालिकाले कक्षा–८ को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा जस्तैगरी सञ्चालन गर्ने, धुलोरहित कक्षाकोठा निर्माण गर्ने, शिक्षकका लागि आवश्यक तालिम तथा प्रशिक्षण दिने र समय–समयमा शैक्षिक उत्प्रेरक झिकाएर उत्प्रेरणा प्रदान गर्ने लगायतका गतिविधि सञ्चालन गर्दै आएको छ ।

    नगरपालिकाका प्रवक्ता एवम् वडानम्बर– ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि दश बुँदे घोषणापत्रसमेत जारी गरेर कार्यान्वयनमा ल्याइएको छ । यस घोषणापत्रमा विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्वलाई प्रभावकारी बनाउँदै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र कर्मचारीको कार्यक्षमता तथा दक्षतालाई प्रवद्र्धन गर्ने कुरा उल्लेख गरिएको छ ।

    घोषणापत्रमा नगरपालिका, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक तथा प्रधानाध्यापक र विद्यालय कर्मचारीबिच कार्यसम्पादन करार सम्झौता गर्ने र विद्यालयमा कार्यरत सबैको कार्यविवरण सबैले देख्ने ठाउँमा राख्ने व्यवस्था गरिएको छ । नगरपालिकाका जनप्रतिनिधि, शिक्षक, अभिभावक र कर्मचारीले सामुदायिक विद्यालय शिक्षा सुधारको नैतिक धरातल बलियो बनाउन सार्वजनिक पद धारण गरेका व्यक्तिले ‘मेरो विद्यालय म आफैँ बनाउँछु, मेरा सन्तान मेरै कार्यक्षेत्रका सामुदायिक विद्यालयमा पढाउँछु’ भन्ने कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

    घोषणापत्रमा कक्षा ११ र १२ का विद्यार्थीलाई रैथाने सीप, कला र उद्यमशीलतासँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक महिनाको अन्तिम शुक्रबार बुक फ्री डे कार्यक्रम सञ्चालन गरी कार्यान्वयनमा ल्याउने तथा ’गुणस्तरीय शिक्षा समृद्ध हलेसीः हामी सबैको जिम्मेवारी’लाई आत्मसात् गर्नुपर्ने कुरा उल्लेख छ ।

    घोषणापत्रका बुँदाहरूलाई स्वेच्छिक रूपमा पालना गर्दै कार्यान्वयनमा ल्याउने प्रतिबद्धतासहित नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकका विभिन्न पेसागत संघ तथा सङ्गठनका प्रमुख तथा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नगरभित्रका ९० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सहीछाप गरेका छन् ।

    चौधवटा माध्यमिक विद्यालय सञ्चालनमा रहेको यो नगरपालिकाबाट यस वर्षको एसइई परीक्षामा ५४.४६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । यस सहकार्यले हलेसी तुवाचुङ नगरपालिकाको शैक्षिक क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

    सम्बन्धित समाचार