मंगलवार, आषाढ १० २०८२
नेपाल वाइड
खोटाङ, १० असार । खोटाङको साकेला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३९ करोड ३० लाख ३९ हजार ६५९ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको कार्यालय मात्तिमस्थित मानेभन्ज्याङमा मङ्गलबार सम्पन्न १५ औँ गाउँसभामा उपप्रमुख बिर्सिका राईले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकालाई आगामी आर्थिक वर्षमा विभिन्न स्रोतहरूबाट बजेट प्राप्त हुने व्यवस्था मिलाइएको छ । संघीय सरकारको राजश्व बाँडफाँडबाट छ करोड ३२ लाख ५६ हजार ६५९ र समानीकरणतर्फ छ करोड ८९ लाख प्राप्त हुनेछ । प्रदेश सरकारको समानीकरणतर्फबाट ५८ लाख ९ हजार आउने उल्लेख छ ।
सशर्त अनुदानका रूपमा संघीय सरकारबाट १४ करोड ४ लाख र प्रदेश सरकारबाट ७५ लाख ६५ हजार प्राप्त हुनेछ । यसका अतिरिक्त संघीय सरकारबाट सशर्त अनुदानतर्फ १३ करोड आठ लाख र प्रदेश सरकारबाट एक करोड ७२ लाख ५९ हजार आउने भएको छ । समपूरक अनुदानतर्फ संघीय सरकारबाट रु दुई करोड २२ लाख र प्रदेश सरकारबाट एक करोड ६० लाख प्राप्त हुनेछ ।
विशेष अनुदानतर्फ संघीय सरकारले एक करोड ५४ लाख उपलब्ध गराउनेछ भने प्रदेश सरकारले सवारी करतर्फ ४९ लाख ९९ हजार दिनेछ । स्थानीय स्रोतका रूपमा आन्तरिक स्रोतबाट ३० लाख, बैङ्क मौज्दातबाट एक करोड २५ लाख, जिल्ला समन्वय समितिबाट साझेदारीतर्फ १८ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट एक लाख ५० हजार र स्थानीय विज्ञापन करबाट दश हजार प्राप्त हुने जनाइएको छ ।
साकेला गाउँपालिकाको १५ औँ गाउँसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै उपप्रमुख बिर्सिका राई ।गाउँसभाले आगामी वर्षका लागि चालूतर्फ २७ करोड ४७ लाख एक हजार ६५ र पूँजीगततर्फ ११ करोड ८३ लाख ३८ हजार ९५० विनियोजन गरेको छ । क्षेत्रगत विनियोजनको विश्लेषण गर्दा सामाजिक विकासतर्फ सबैभन्दा बढी १९ करोड २३ लाख ४३ हजार ३३५ छुट्याइएको देखिन्छ ।
पूर्वाधार विकासतर्फ आठ करोड ६० लाख ९० हजार १५५, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ आठ करोड ३५ लाख ४१ हजार ५९४, आर्थिक विकासतर्फ दुई करोड ३२ लाख ५० हजार र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७८ लाख १५ हजार ६०० बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ मा ३३ करोड ९५ लाख ६८ हजार ९७८ बजेट विनियोजन भएकोमा हालसम्म ३१ करोड ३८ लाख ८६ हजार ६३४ बजेट आएको गाउँपालिकाका आर्थिक शाखा प्रमुख उत्तम आचार्यले जानकारी दिए ।
उक्त बजेटमध्ये चालू खर्च १५ करोड ४९ लाख छ हजार ३३६ र पूँजीगततर्फ छ करोड ८१ लाख १५ हजार ५६४ गरी कुल २२ करोड ३० लाख २१ हजार ९०० खर्च भएको छ । आगामी आर्थिक वर्ष साउनदेखि जन्मिने बालबालिकाको नाममा रकम जम्मा गर्ने कार्यक्रम गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
अध्यक्ष रविप्रकाश राईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमअनुसार ‘नवजात शिशु बचत योजना’ अन्तर्गत एसबीआई बैंकसँगको सहकार्यमा खाता खोली प्रत्येक वर्ष रु १० देखि १५ हजारसम्म जम्मा गरिने र उक्त रकम वार्षिक रूपमा बढाउँदै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसरी खोलिएको खातामा बालिकाहरू १८ वर्षको उमेरसम्म पालिकाले आन्तरिक आम्दानीबाट व्यवस्था गर्ने पालिकाका आर्थिक शाखा प्रमुख आचार्यले बताए । ‘नवजात शिशु बचत योजना’ मा खाता खोल्नका लागि केही विशेष मापदण्डहरू तोकिनेछन् । स्वास्थ्य संस्थामा बच्चा जन्माएको हुनुपर्ने, समयमै जन्मदर्ता गराएको हुनुपर्ने, कम्तीमा कक्षा १२ सम्म गाउँपालिकाभित्रकै सामुदायिक विद्यालयमा निरन्तर अध्ययन गरेको हुनुपर्ने, बसाइँ सरेर अन्यत्र जान नपाइनेलगायतका मापदण्ड बनाइने बताइएको छ ।
यी मापदण्डहरूले समयमै जन्मदर्ता गराउने प्रवृत्तिलाई बढावा दिने र स्थानीय सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।